काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडो सक्न सम्बन्धित निकायलाई ताकेता गरेका छन् । यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने वचनसमेत उनले दिए ।
निर्माणाधीन विमानस्थलको शनिबार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने, ‘काम छिटो सकेर उडान सञ्चालन गर्न सरकारका तर्फबाट के काम गर्नुपर्नेछ, त्यसमा कुनै ढिलाइ हुँदैन । निर्माणकर्ताले पनि तीव्र गतिमा काम अघि बढाउनुपर्यो ।’
सरकारले कुनै नीतिगत निर्णय गर्नुपर्ने भए, बजेट व्यवस्था गर्नुपर्ने भए जानकारी दिन उनले आग्रह गरे । त्यसको व्यवस्थापन सरकारले गर्ने ग्यारेन्टी लिनुपर्ने तर काम चाँडो सक्नुपर्छ उनको भनाइ छ । आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्न म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ ।
विमानस्थल निर्माणको क्रममा विभिन्न समस्या पनि देखिएका छन् । ल्यान्डिङ एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाका कारण उक्त काममा ढिलाइ भइरहेको आयोजनाको गुनासो छ । त्यसका लागि बल्ल वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको छ ।
यस्तै, आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ किमि उत्तरमा रहेको ल्यान्डफिल साइट स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान सञ्चालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ । ‘आईकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले पाएको छ ।
करिब २ सय १६ मिलियन डलर लागत रहेको आयोजना निर्माणका लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबीच सम्झौता भएको हो । चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा ३ वटा अन्तर्राष्ट्रिय र ८ वटा आन्तरिक विमान पार्किङ गर्न सकिने बनाइएको छ ।
विमानस्थल निर्माणका लागि २०३२ मै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ । निरीक्षणका क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन् ।