close

नेपाली प्रतिभालाई विश्वसामु चिनाउन प्रधानमन्त्री देउवाको आग्रह

नेपाली प्रतिभालाई विश्वसामु चिनाउन प्रधानमन्त्री देउवाको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए ।

 

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको समेत बताए ।  आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने उनको धारणा थियो । समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिए ।

 

 प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकोमा प्रशंसा गरे ।

 

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए । प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको बताए । 


समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गरे । प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरण गरिएको थियो ।