विराटनगर– मोरङको विराटनगर महानगरले बाढीका कारण मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । बाढीले बगाएर मृत्यु भएका विराटनगर वडा नम्बर १ का २१ वर्षीय सञ्जित कामतका आफन्तलाई महानगरले किरिया खर्च उपलब्ध गराएको हो ।
विराटनगर महानगरअन्तर्गत विपद् व्यवस्थापन समितिको बैठकले २ र ३ कात्तिकको बेमौसमी वर्षाका कारण आएको बाढीबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।
बाढीमा परेर ज्यान गुमाएका विराटनगर वडा नम्बर १ का कामत, वडा नम्बर ५ का ४१ वर्षीय सञ्जय राई र वडा नम्बर १२ का इसान भुजेलका परिवारलाई किरिया खर्चका लागि जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो ।
३ कात्तिकमा डुबानमा परेको घरभित्रबाट सामान निकाल्ने क्रममा सिंघिया खोलाको बाढीले कामतलाई बगाएको थियो । ३ दिनपछि उनको शव परोपकारघाट छेउ फेला परेको थियो ।
विराटनगर महानगर प्रमुख भीम पराजुलीले वडा नम्बर १ स्थित धर्मशाला चौकमा बाढीले बगाएर मृत्यु भएका कामतको घरैमा पुगेर उनका बुबा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । महानगरले मजदुरी गरिखाने कामतका परिवारलाई काजकिरियाका लागि आर्थिक सहायता दिएको उनको भनाइ छ ।