close

मुख्यमन्त्री शाही गृहजिल्ला हुम्लाबाट सुर्खेत फिर्ता 

मुख्यमन्त्री शाही गृहजिल्ला हुम्लाबाट सुर्खेत फिर्ता 

Trulli
ADVERTISEMENT

हुम्ला– दसैँपछिको बेमौसमी वर्षाले हुम्लामा पुर्‍याएको क्षति अनुगमन गर्न गृहजिल्ला हुम्ला पुगेका मुख्यमन्त्री जीवनबहादुर शाही कर्णाली मुकाम सुर्खेत गएका छन् । आइतबार दिउँसो हुम्ला आएका मुख्यमन्त्री शाही आफ्नो गाउँपालिका खार्पुनाथ हुँदै सीमकोटमा बास बसेका थिए ।


मुख्यमन्त्री शाहीले सोही दिन बिहान अदानचुली गाउँपालिका वडा नम्बर ५ को बारीगाउँमा स्थानीयसँग भेट गरेका थिए । अदानचुलीको वडा नम्बर ५ र ६ मा बेमौसमी वर्षाले हुम्लाभरिमै सबैभन्दा बढी क्षति पुर्‍याएको छ ।


हेलिकोप्टरमार्फत हुम्ला आएका मुख्यमन्त्री शाहीले बाढीले पुर्‍याएको क्षति अनुगमन गरी मन्त्रिमण्डललाई पूर्णता दिएपछि छिट्टै पुनः अनुगमनमा आउने बताए । ‘गठबन्धनको सरकार भएकाले यतिबेला मुख्यमन्त्री पनि म आफैं, मन्त्री पनि आफैं हुँ । मन्त्रिमण्डल विस्तारलगायत अन्य काम गर्नुपर्ने कार्यव्यस्तताका कारण समय मिलाएर बाढीले पुर्‍याएको क्षति अनुगमन गर्न आएको हुँ’, शाहीले भने ।


बाढीले क्षति पुर्‍याएका नागरिकका लगत संकलनका कागजात स्थानीय नेतामार्फत पठाइदिन उनले आग्रह गरे । मुख्यमन्त्री शाहीले बेमौसमी वर्षाका कारण विद्युत् आयोजनामा क्षति पुगेपछि लामो समयदेखि अवरुद्ध बिजुलीको पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।

 

मुख्यमन्त्री शाही सुर्खेत फिर्ता भएलगत्तै कांग्रेस वडा नम्बर ५ का वडा सभापति सुरेन्द्र छत्यालको अध्यक्षतामा बसेको बैठकले अविरल वर्षाले पुर्‍याएको नोक्सानी विवरण संकलन गरी प्रदेश सरकारलगायत अन्य निकायमा क्षतिपूर्तिका लागि पहल गर्ने निर्णय गरेको छ ।