close

बेमौसमी वर्षाले दाङमा करिब ७० करोड बराबरको धानबालीमा क्षति

बेमौसमी वर्षाले दाङमा करिब ७० करोड बराबरको धानबालीमा क्षति

Trulli
ADVERTISEMENT

दाङ– बेमौसमी वर्षाले खेतमा बाला झुलेर काट्न तयार धानको बोट पानीले डुबायो । काटेर घर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुब्यो । अन्नको भण्डार मानिने दाङमा बेमौसमी वर्षाले करिब ७० करोड रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ ।

 

कृषि ज्ञान केन्द्रले दिएकोे तथ्यांकअनुसार जिल्लाका १० वटै पालिकाबाट प्राप्त क्षतिको विवरणका आधारमा वर्षाका कारण काटिएर सुकाउन राखिएको, बाढीले बगाएको र हावाहुरीसहितको वर्षाले ढालेर धानबालीमा भएको क्षति ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँ बराबरको रहेको कृषि ज्ञान प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।


काटेर घर भित्र्याउने तयारी गरेका यहाँका कृषकले धानबाली स्याहार्ने बेला अचाकन परेको हावाहुरीसहितको वर्षाले ठूलो क्षति गरेको छ । पानीले भिजेपछि धेरैजसो स्थानमा धान खेतमै उम्रिने अवस्था छ । ज्ञान केन्द्र प्रमुख घिमिरेले धानबालीमा भएको क्षति २७ हजार ६ सय ६८ दशमलव २५ मेट्रिक टन रहेको बताए । जिल्लामा सबैभन्दा बढी धानबाली क्षति घोराहीमा भएको छ ।


घोराहीमा १ हजार ९ सय ५ दशमलव ८८ हेक्टरमा क्षति हुँदा ६ हजार ७२ दशमलव ३ मेट्रिक टन, तुलसीपुरमा २ सय ७५ हेक्टरमा क्षति हुँदा ८ सय ५२ दशमलव ५ मेट्रिक टन, लमहीमा १ हजार ४ सय ३२ हेक्टरमा क्षति हुँदा ५ हजार १२ मेट्रिक टन धानबाली क्षति भएको छ ।


पहाडी क्षेत्र रहेको बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा क्षति हुँदा ३ हजार ३ सय ४४ दशमलव ९ मेट्रिक टन धानबालीमा क्षति भएको छ । यसैगरी पश्चिम दाङको शान्तिनगरमा ७ सय ६१ दशमलव ३ हेक्टरमा क्षति हुँदा २ हजार ३ सय ६० दशमलव १ मेट्रिक टन, बबई गाउँपालिकामा ५ सय २ दशमलव ५ हेक्टरमा क्षति हुँदा १ हजार २ सय ६८ दशमलव ८ मेट्रिक टन, राप्ती गाउँपालिकामा ७१ दशमलव ८ हेक्टरमा क्षति हुँदा २ सय २० दशमलव ६ मेट्रिक टन, राजपुर गाउँपालिकामा ८ सय ७५ दशमलव ३ हेक्टरमा क्षति हुँदा २ हजार १ सय ६६ दशमलव ७ मेट्रिक टन, गढवा गाउँपालिकामा ९ सय १९ दशमलव ७ हेक्टरमा क्षति हुँदा २ हजार ९ सय ८ दशमलव ८ मेट्रिक टन र दंगीशरण गाउँपालिकामा १ हजार १ सय २३ दशमलव ५ हेक्टरमा क्षति हुँदा ३ हजार ४ सय ५९ दशमलव ६ मेट्रिक टन धानबाली कामै नलाग्ने गरी नोक्सान भएको छ । 


जिल्लामा यो वर्ष खेतीयोग्य जमिनमध्ये ३९ हजार ४०० हेक्टरमा धान खेती गरिएको थियो । यसमध्ये ८ हजार ९ सय ९८ दशमलव ९ हेक्टरमा क्षति भएको छ । यो धान रोपिएको कुल क्षेत्रफलको २२ दशमलव ८३ प्रतिशत हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा रोपिएको धानको कुल क्षेत्रफलमध्ये २२ दशमलव ८३ हेक्टरमा क्षति भएको छ । यो अवस्था विश्लेषण गर्दा जिल्लाका १० वटै पालिकामा गरेर २७ हजार ६ सय ६८ दशमलव २५ मेट्रिक टन धानबालीमा क्षति भएको छ ।


ज्ञान केन्द्रका अनुसार संकलन गरिएको विवरणका आधारमा सरकारले पीडित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउने बताइएको छ । यसका लागि जिल्लाबाट क्षतिको विवरण संकलन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै पालिकाका कृषि शाखाबाट संकलन गरिएको क्षति विवरणलाई केन्द्रमा पठाइनेछ ।