देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) सर्लाहीको हरिपुर नगरपालिकाको आयोजनामा शिक्षकका लागि एकीकृत पाठ्यक्रम प्रबोधीकरण तथा क्षमता विकास सम्बन्धी तालिम सुरु, तालिम १७ कार्तिकसम्म सञ्चालन हुने ।
२) काभ्रेको मण्डनदेउपुर नगरपालिकाद्वारा स्वेच्छिक अवकाशमा जान चाहने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई १५ मंसिरभित्र निवेदन दिन सूचना जारी, शिक्षकलाई प्रोत्साहन रकम दिइने ।
३) गुल्मीको इस्मा गाउँपालिकाको आयोजनामा सामुदायिक विपद् प्रतिकार्य तालिम जारी, १७ कार्तिकसम्म चल्ने तालिममा जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता ।
४) बाढीमा परी मृत्यु भएकाको परिवारलाई मोरङको विराटनगर महानगरपालिकाले राहत रकम दियो, तीन जनाको परिवारलाई काजकिरिया खर्च बापत जनही ५० हजार रुपैयाँ प्रदान ।
५) भक्तपुरको कमलविनायक हुँदै नगरकोटसम्म पुग्ने सडक विस्तारमा चरम ढिलासुस्ती, सडक निर्माणको माग गर्दै चाँगुनारायण नगरपालिकाले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठायो ।
६) तनहुँको व्यास नगरपालिका १ नम्बर वडा कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो, नवनिर्मित भवनको नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरे उद्घाटन ।
७) मागमा आधारित अनुदान सहयोग कार्यक्रमका लागि सुर्खेतको गुर्भाकोट नगरपालिकाले उद्यमी तथा उद्योग छनोट गर्यो, १५ दिनभित्र पालिकामा सम्झौता गर्नुपर्ने ।
८) ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन थाल्यो, ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने ।
९) उदयपुरको त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि बनाएको सडक ग्राभेल योजना सुरु, १६ वटै वडामा सडक ग्राभेल गरिने ।
१०) कृषि तथा पशुपन्छी कार्यक्रमका लागि चितवनको राप्ती नगरपालिकाद्वारा प्रस्ताव आह्वानको सूचना जारी, इच्छुक कृषक तथा फार्मले १५ दिनभित्र कृषि शाखाका निवेदन पेस गर्नुपर्ने ।
११) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने, उद्यमी, व्यवसायीलाई प्रस्ताव पेस गर्न सूचना जारी ।
१२) पोखरा महानगरपालिकाको मुख्य चौकमा ट्राफिक लाइट राखिने, महानगरपालिका, सडक विभाग र अन्य सरोकारवाला निकायबीच छलफल सम्पन्न ।
१३) पर्वतको महाशिला गाउँपालिकाले माग्यो एक जना इन्जिनियर, १५ दिनभित्र दरखास्त दिन सूचना जारी ।
१४) चितवनको रत्ननगर नगरपालिकाले बेमौसमी वर्षाबाट पीडित बनेका किसानलाई राहत वितरण, प्रतिबिघा १० हजारको दरले दिइँदै ।
१५) स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ द्वारा वडा तथा नगरस्तरीय योजना सञ्चालन गर्न उपभोक्ता समिति गठन, समितिले काम थाल्यो ।
१६) मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गर्यो, अभियान १६ कार्तिकसम्म सञ्चालन हुने ।
१७) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने, व्यावसायिक फार्मले ३० दिनभित्र पशु शाखामा प्रस्ताव पेस गर्नुपर्ने ।
१८) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडा नम्बर ६ मा एक घर, एक धारा अभियान सञ्चालन गर्ने, योजना सञ्चालनका लागि पालिकाले ठेक्का आह्वानको प्रक्रिया अघि बढायो ।
१९) बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी अभाव, कामकाज ठप्प, सेवाग्राही मर्कामा ।
२०) तिहारको अवसरमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आयोजनामा पालिका स्तरीय फुटबल प्रतियोगिता जारी ।