दाङ– प्रदेश निर्वाचन कार्यालय दाङले जिल्लाका सात स्थानीय तहमा मतदाता नामावली विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यालयले आइतबार घोराहीमा कार्यक्रम आयोजना गरी आउँदो १७ मंसिरदेखि १८ पुससम्म सात वटा गाउँपालिकामा पुुगेर मतदाता नामावली संकलन गर्ने जानकारी दिएको हो ।
प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय दाङ, लमहीमा इलाका प्रशासन र तुलसीपुरमा इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।
अन्य सात गाउँपालिकामा एक महिने विशेष कार्यक्रम सञ्चालन गर्न लागेको प्रमुख भट्टराईले बताए । बबई, शान्तिनगर, दंगिशरण र बंगलाचुुलीमा १७ मंसिरदेखि २ पुससम्म र राजपुुर, गढवा र राप्तीमा ४ देखि १८ पुससम्म पालिका केन्द्रबाट मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
अब हुने स्थानीय, प्रदेश र संघको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन थालिएको हो ।
दाङमा अहिलेसम्म ३ लाख ७७ हजार ५ जना मतदाताले आफ्नो नाम दर्ता गराएका छन् । यीमध्ये १ लाख ९ हजार ८ सय ७५ महिला, १ लाख ८६ हजार १ सय २८ जना पुुरुष मतदाता छन् । २ जना तेस्रोलिंगी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
दाङका १० वटै स्थानीय पालिकाका कार्यालयबाट फोटोसहितको नामावली संकलन गरिनेछ । जिल्लामा करिब २७ हजार बढी जनसंख्या थप हुने बताइएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।