देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण सुरु, पालिकाले हरेक वडामा स्वास्थ्यकर्मी परिचालन गर्यो ।
२) पर्वतको पैयुँ गाउँपालिकाले महिलाका लागि २१ मंसिरदेखि एक महिने निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने, इच्छुकले १० मंसिरसम्म आवेदन दिइसक्नुपर्ने ।
३) कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई दियो गोठालो भत्ता, बाख्रापाल्नेलाई एक हजार र भेडासँगै बाख्रा पाल्नेलाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता वितरण ।
४) सुनसरीको दुहवी नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन पालिकाको कृषि शाखामा निवेदन दिनुपर्ने ।
५) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एक जना असिस्टेन्ट इन्जिनियर करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।
६) काभ्रेको नमोबुद्ध नगरपालिकाले कार्तिक शुक्ल पूर्णिमाको अवसरमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।
७) पर्साको वीरगञ्ज महानगरपालिकाले कृषकलाई गहुँको बिउ वितरण गर्न थाल्यो, ५० प्रतिशतमा अनुदानमा बिउ पाउँदा कृषक दंग ।
८) कपिलवस्तुका पाँच पालिकामा फैलिएको हैजा नियन्त्रणमा ल्याउन हैजाविरुद्धको खोप अभियान चलाइने, ५ देखि १२ मंसिरसम्म खोप लगाइने ।
९) कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराको करैयामाई र फेटा गाउँपालिकाले दिए सार्वजनिक बिदा, विभिन्न स्थानमा लागेको मेला भर्न पालिकावासीको घुइँचो ।
१०) भक्तपुर नगरपालिकाले महिला तथा युवा लक्षित विभिन्न तालिम १ पुषदेखि सञ्चालन गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।
११) नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्यायो, स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट बन्यो जिल्लाको पहिलो स्थानीय तह
१२) सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषि, दुग्ध र बहुउद्देश्यीय सहकारीलाई सफ्टवेयर जडान गर्न ५० प्रतिशत रकम अनुदान दिने, इच्छुक सहकारीले १५ दिनभित्र पालिकामा निवेदन पेश गर्नुपर्ने ।
१३) पाल्पाको निस्दी गाउँपालिकाले साना व्यावसायिक कृषि उत्पादन कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना जारी, इच्छुक कृषक समूह तथा फार्मले १५ दिनभित्र पालिकामा प्रस्ताव बुझाउनुपर्ने ।
१४) सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने, बिउ लिन १३ मंसिरसम्म कृषि शाखामा निवेदन दिनुपर्ने ।
१५) मोरङको लेटाङ नगरपालिकाको आयोजनामा सामुदायमा आधारित पुनस्र्थापना सहजकर्ताका लागि सञ्चालन गरिएको तीन दिने समावेशी विकास सम्बन्धी तालिम सम्पन्न ।