देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) खैरो हिरोइनसहित पक्राउ परेका पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अमेरिका सहनीलाई अदालतद्वारा पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान, वडा सदस्य बलिष्टर सहनी एक लाख धरौटीमा छुटे ।
२) तनहुँको ऋषिङ गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने, वर्षाले घर भत्किएका पालिकावासीलाई पनि राहत प्रदान गर्ने निर्णय ।
३) ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा नम्बर ६ मा एक घर, एक धारा अभियान सञ्चालन गर्ने, योजना सञ्चालनका लागि पालिकाले ठेक्का आह्वानको प्रक्रिया अघि बढायो ।
४) सिन्धुलीको गोलन्जोर गाउँपालिकाले तिहारको अवसरमा पालिका स्तरीय फुटवल प्रतियोगिता सञ्चालन गर्ने, प्रतियोगिता १४ कार्तिक देखि सुरु हुने ।
५) सिरहाको सिरहा नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ, यादवको साथबाट नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद ।
६) बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी अभावका कारण कामकाज ठप्प, सेवाग्राही मर्कामा, आर्थिक कारोबार रोकिएकाले वर्षाका कारण विपद् सामना गरिरहेका घरपरिवार राहत नपाउँदा झनै समस्यामा ।
७) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा काउ म्याट वितरण गर्ने, व्यावसायिक फार्मले ३० दिन भित्र पशु शाखामा प्रस्ताव पेश गर्नुपर्ने ।
८) बेमौसमी वर्षाले धानबालीमा गरेको क्षतिको विवरण संकलन गर्न प्रभावित पालिका व्यस्त, लगत संकलनपछि पुर्नस्थापना र राहत सहयोग गरिने ।
९) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले गरे वडा नम्बर ९ मा सञ्चालन भइरहेका योजना अनुगमन, स्थानीयसँग आगामी दिनमा समावेश गर्नुपर्ने योजनाका विषयमा पनि छलफल ।
१०) नवलपरासीको बर्दघाट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्ने, बिउ लिन कृषकले सात दिन भित्र कृषि शाखामा निवेदन दिनुपर्ने ।
११) रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माण सुरु, नगरप्रमुख धर्मेन्द्र पटेलले गरे भवनको शिलान्यास ।
१२) दाङको घोराही उपमहानगरपालिकाको आयोजनामा गत वर्ष स्वास्थ्य संस्थाबाट भएको पोषण कार्यक्रमको समीक्षा सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता ।
१३) केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्याएपछि पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा सवारीसाधन आउजाउ बन्द, स्थानीय समस्यामा ।
१४) बैतडीको शिवनाथ गाउँपालिकाद्वारा पहिरोमा परि मृत्यु भएका परिवारलाई राहतस्वरूप १ लाख ५० हजार रुपैयाँ प्रदान, भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीले पाए राहत रकम हातैमा ।
१५) सप्तरीको राजगढ गाउँपालिकाले वडा नम्बर १ मा मत्स्य पालनका लागि पोखरी निर्माण गर्ने, तीन वर्षका लगि ठेक्का बन्दोबस्त गर्न शिलबन्दी बोलपत्र आह्वान, १६ कात्तिकसम्म बुझाउनुपर्ने ।
१६) स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण, तीन समूहलाई दमाहा, सहनाई र नरसिंहा दुई-दुई थान तथा ढोलक, टयाम्को, कर्नल र झुर्मा एक-एक थान वितरण ।
१७) गोरखाको गोरखा नगरपालिकाले परम्परागत पेसा व्यवसायमा लागेका युवालाई प्रोत्साहन गर्ने, अपाङ्गता भएका युवाको लागि उद्यमशीलता विकास कार्यक्रम पनि सुरु ।
१८) काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले माग्यो कारारमा दुई जना अनमी, ७ दिनभित्र दरखास्त दिन सूचना जारी ।
१९) काभ्रेको पनौती नगरपालिकाले कृषि तथा पशुपालनका लागि अघि सारेको कार्यक्रममा दरखास्त दिनको लागि समायवधि थप्यो, लैना गाई र बोयर बोका लिन १२ कात्तिकसम्म दरखास्त दिन सकिने ।
२०) हृदयघातका कारण प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा कार्यरत कार्यालय सहयोगी प्रमेश्वर साहको निधन भएपछि सिरहाको औरही गाउँपालिकाले दियो शोक बिदा ।