पाँचथर– केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीले मोटरेबल पुलमा क्षति पुर्यfएपछि पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा सवारीसाधन आउजाउ बन्द भएको छ ।
फिदिम नगरपालिका र कुम्मायक पालिका जोड्ने तमोर करिडोर सडकअन्तर्गत सिवादोभानको मोटरेबल पुलको एकातिरको भाग बाढीले बगाएको हो ।बाढीका कारण निभुखोला र सिवाखोलाले धार परिवर्तन गर्दा पुलको फिदिम नगरपालिकातिरको भाग बगाएको छ ।
पुलको एकातिरको भाग बग्दा कुम्मायक र तुम्बेवा पालिकाबासीलाई सदरमुकाम आउजा गर्न समस्या भएको कुम्मायकका पदम सम्बाहाम्फेले बताए । वर्षाले सडक बिग्रिँदा उत्तरे–यासोक र यासोक–मूलघाट सडक पनि अवरुद्ध छ ।
तराईका जिल्ला जाने मानिस कुम्मायक र तुम्बेवाबासी सिवादोभानसम्म एउटा गाडीमा गएर पैदल खोला तरी पुनः अर्को गाडीमा चढेर जान बाध्य छन् । चाँडै पुल मर्मत गरी सवारीसाधन सञ्चालन गर्ने तयारी थालिएको कुम्मायक गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।