close

बाघ गणनाको अन्तिम तयारी

बाघ गणनाको अन्तिम तयारी

Trulli
ADVERTISEMENT

चितवन–राष्ट्रिय निकुञ्जमा आगामी मंसिर र पुसमा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक ४/५ वर्षको अन्तरमा बाघ गणना हुँदै आएको छ ।
यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ ।  चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिन लागिएको हो ।

 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समय बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ ।

 

झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उनको भनाइ छ । उनले भने, ‘पुसभित्र सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ ।’ दुई/दुई ग्रिड अर्थात् चार वर्गकिलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । कम्तीमा दुई साता क्यामेरा राख्नुपर्ने उनको भनाइ छ ।

 

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स एवं शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ ।  सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । तत्कालीन समय चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । हाल यो संख्या बढेको अनुमान छ ।

 

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । तत्कालीन समय नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्यांक थियो । दोब्बरभन्दा बढी संख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त छन् ।