काठमाडौं– ‘ह्याप्पि बर्थ डे’ कसरी मनाउँने तयारी गर्दै हुनुहुन्छ ? केक काटेर अथवा अन्य सिर्जनशील कार्य गरेर । वृक्षरोपण गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने प्रकृति संरक्षण अभियानका अभियन्ता अनिल बस्न्यातलाई सम्झनुहोला । तपाईँलाई ‘सेलिब्रेसन’ दिन उनी निः शुल्क बिरुवा लिएर तपाईँ रहेकै स्थानमा आउँछन् । वृक्षरोपणमा सहयोग गर्छन् ।
किशोरावस्थादेखि वृक्षरोपणमा सक्रिय उनले हालसम्म चारहजार भन्दा वढी वृक्षरोपण गरिसकेका छन् । उाले भने, ‘म खाली सार्वजानिक जमीन खोजी खोजी वृक्षरोपण गरिहाल्छु । निजी जग्गा धनीलाई समेत जग्गा उपलब्ध गराइदिनुस भनी अनुरोध समेत गर्दछु ।’
कञ्चनपुर, भीमदत्त नगरपालिका–३, का अभियन्ता बस्न्यातले आफ्नी आमा देबीरानी बस्न्यात र मामा हिक्मतबहादुर बिष्टको प्रेरणाबाट प्रकृति संरक्षणमा अघि बढेका जानकारी दिए । उनले भने, ‘प्रकृतिलाई कसरी माया गर्नुपर्छ, बोट विरुवा कसरी संरक्षण गर्नुपर्छ र वृक्षारोपणको महत्व कति हुन्छ भन्ने कुरा मैले मेरी आमाबाट सिकेको हुँ । आमा असाध्यै प्रकृतिप्रेमी हुनुहुन्थ्यो ।’
सन् १९७५ देखि वृक्षरोपणमा सक्रिय उनले भने, ‘केही वर्ष अध्ययनका सिलसिलामा वृक्षरोपण गर्न सकिन । पछिल्ला सयम निरन्तर वृक्षरोपणमा सक्रिय छु । जागिरे जीवनका क्रममा म जुन जिल्ला पुगेँ, त्यहाँ वृक्षरोपण अभियान सुरुआत गरिहाले । सार्वजानिक जमीन, उद्यान तथा आम सर्वसाधारणलाई वृक्षरोपण अभियानमा सरिक गराउँदै वृक्षरोपण गरेँ ।’
नेपाल परिवार नियोजन सङघमा कार्यरत अभियान्ता बस्न्यातको अभियानलाई पछिल्लो समय विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपाले सितको साझेदारी र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित जनसंख्या स्वास्थ्य तथा वातावरण परियोजनाले थप ऊर्जा थपिदिएको थियो । उनले भने, ‘बिरुवा रोपणलाई कसरी प्रभावकारी बनाउने र यस पवित्र अभियानमा आफ्ना साथीका साथै विश्वव्यापी कसरी चिरपरचित गराउने र अभियालाई कसरी विश्वव्यापी समेत बनाउने भनी सोंचिरहन्थे । उही सोचका बीचमा एउटा सजिलो उपाय निस्कियो –सामाजिक सञ्चाल फेसबुकमा ग्रुप बनाउने ।’
विश्वमा अहिले सामाजिक सञ्जाल मार्फत नै सचेतीकरणका नयाँ नयाँ र अनौठा अनौठा अभियान सञ्चालित छन भने यसै सञ्जाल भित्रको एउटा शसक्त माध्यम फेसबुकलाई अभियन्ता बस्न्यातले प्रयोगमा ल्याएका छन् । फेसबुक पेजमा ६००० बढी व्यक्ति जोडिइएसकेका छन् । यसै क्रममा अभियानलाई अँझ बढी तीब्रता दिन अभियन्ता बस्न्यातले पछिल्लो समय ‘आफ्नो जन्मदिनमा एउटा बिरुवा रोप्नुहोस , बिरुवा रोप्दै गरेको फोटो फेसबुकमा सेयर गर्नुहोस र निशुल्क प्रमाणपत्र प्राप्त गर्नुहोस’ भनी अभियान सञ्चालन गरिरहेका छन् ।