काठमाडौं– धनकुटाको महालक्ष्मी नगरपालिकाले खाद्य सुरक्षा र हरियाली शहर कार्यक्रमका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सम्झौता गरेको छ । बुधबार ललितपुरको सातदोबाटोमा रहेको नास्टको कार्यालयमा एक कार्यक्रमका बीच खाद्य सुरक्षा र हरियाली शहर कार्यक्रम लागू गर्ने समझदारी पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नास्टका तर्फबाट उपकुलपती डा सुनीलबाबु श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका तर्फबाट प्रमुख पर्शुराम नेपालले हस्ताक्षर गरेका छन् ।
नगरपालिकालाई हरित, स्वच्छ र सुन्दर बनाउन खाद्य सुरक्षा हरियाली शहर कार्यक्रम अघि बढाउन लागिएको महालक्ष्मी नगरपालिकाका प्रमुख नेपालले बताए । नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन, नागरिकलाई आयआर्जनसँग जोड्ने र स्वरोजगार बनाउन यो कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा लिएको प्रमुख नेपालले बताए ।