देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित वडा नम्वर १ को कार्यालय तोडफोड, वडा कार्यालयको ल्यापटप र कम्प्युटर सुरक्षित, गाउँमा चोरी भएकाले चोरबाटै तोडफोड भएको हुनसक्ने वडाध्यक्षको दावी ।
२) पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले दुध उत्पादन र बजारिकरण आधारमा अनुदान कार्यक्रममा भाग लिन जारी गर्यो सूचना, इच्छुक दुध उत्पादक सहकारी संस्थाले प्रस्ताव पेस गर्न सक्ने ।
३) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक १५ असोजमा बस्ने, बाढीपहिरोले क्षतिग्रस्त बनाएका घरको पुनर्निर्माण तथा पुर्नस्थापनाको काम अघि बढाइने ।
४) काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइदै, खोप लगाउन बाँकी १८ वर्ष माथिका सबैलाई खोपको पहिलो मात्रा दिइने महानगरपालिकाको भनाइ ।
५) घरजग्गा बहाल सम्बन्धी विवरण पेश गर्न रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जारी गर्यो सूचना, कार्यपालिकाको कार्यालयमा फारम दाखिला गर्नुपर्ने ।
६) भक्तपुरको सूर्यविनायक नगरपालिकाले चालु शैक्षिक सत्रमै स्थानीय पाठ्यक्रम लागु गर्ने, सरोकार व्यक्तिसँग यसै साता छलफल गरेर अन्तिम रूप दिने पालिकाको तयारी ।
७) धनगढी उपमहानगरपालिकाद्वारा उपमहानगर भित्रका घर पालुवा र छाडा कुकुरको बन्ध्याकरण, रेबिज रोग विरुद्धको निशुल्क खोप शिविर पनि सञ्चालन ।
८) महोत्तरीकाे बर्दिवास नगरपालिपालिकाले स्वयंसेवक शिक्षक करारमा भर्ना गर्न विज्ञापन खुलायो, इच्छुकले पालिकामा दरखास्त बुझाउनुपर्ने ।
९) काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ ले ज्येष्ठ नागरिकलाई २२ असोजमा मनकामना दर्शन गर्न लैजाने, सामाजिक सुरक्षा भत्ता कार्डको प्रतिलिपि वडामा वुझाउनुपर्ने ।
१०) सिन्धुलीको घ्याङलेख गाउँपालिकाले किसानको सूचिकरण गर्ने, सहजकर्ताका लागि निवेदन दिन पालिकाले जारी गर्यो सूचना ।
११) धनुषाको सबैला नगरपालिकाले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप, सूचना माग्न संघर्ष समिति गठन गरेर रिले अनशनसहितको आन्दोलन जारी ।
१२) पालिका गान रचना गर्न काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जारी गर्यो सूचना, छनोट हुने रचयितालाई एक लाख पुरस्कारको व्यवस्था ।
१३) काठमाडौंको टोखा नगरपालिकाले नगरभित्रका कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन थाल्यो, घुम्ती सेवा १५ असोजसम्म सञ्चालन हुने ।
१४) धनकुटाको पाख्रिवास नगरपालिकाले एक जना जनस्वास्थ्य अधिकृत र दुई जना हेल्थ असिस्टेन्ट करारमा नियुक्त गर्न विज्ञापन खुलायो, १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।
१५) रूपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयको सहकार्यमा गोलपार्क देखि चौराहसम्मको सडक सरसफाइ गर्न थाल्यो, खाल्डाखुल्डी पुर्ने र नाली बनाउने काम पनि जारी ।
१६) सुरक्षित आवासका लागि दाङको बबई गाउँपालिकाद्वारा डकर्मीका लागि तालिम सञ्चालन, तालिम १७ असोजसम्म चल्ने ।
१७) ललितपुरको पुल्चोकमा रहेको समय फल्चाको पुनर्निर्माण विरुद्धमा परेको मुद्दा खारेज भएसँगै महानगरद्वारा फल्चाको पुनर्निर्माण सुरु, लालिगुराँस सहकारी संस्था र महानगरबीच चलेको थियो मुद्दा ।
१८) जाजरकोटको भरी नगरपालिकाद्वारा कृषकलाई कृषि सामग्री र तरकारीको बिउ वितरण, पालिकाको सहयोग पाउँदा कृषक दंग ।
१९) काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेवेँसीमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा सुरु, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले गरे उद्घाटन ।
२०) उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन प्याकेज एकका बारेमा काठमाडौं महानगरपालिकाद्वारा उपत्यकाका जनप्रतिनिधि र सरोकारवालासँग छलफल सम्पन्न ।