देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) संविधान जारी भएको ६ वर्ष पूरा, संघीयता कार्यान्वयनको जटिलता कायमै, सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउन चुनौती ।
२) सिन्धुलीको मरिण गाउँपालिकाको आयोजनामा गत वर्षको स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा सुरु, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने पालिकाको योजना ।
३) तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दियो अनुमति, प्रयोगशालाबाट एकै पटक ९६ जनाको स्वाब परीक्षण गर्न सकिने ।
४) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।
५) ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले १० असोजबाट १५ देखि ६० वर्ष उमेर समूहका साक्षर हुने क्रममा रहेका व्यक्तिको परीक्षा सञ्चालन गर्न दियो निर्देशन, पालिकाभरका सामुदायिक विद्यालयले परीक्षा सञ्चालन गर्नुपर्ने ।
६) काभ्रेको बेथानचोक गाउँपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
७) उदयपुरको कटारी नगरपालिकाले नदीजन्य पदार्थ विक्री गर्न ४ र ५ भदौमा प्रारम्भिक वातावरणीय प्ररीक्षण प्रतिवेदन तयारी गर्नको लागि सार्वजनिक सुनुवाई गर्ने ।
८) म्याग्दीको मंगला गाउँपालिकाले विभिन्न पदमा करारमा कर्मचारी नियुक्त गर्न विज्ञापन खुलायो, १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
९) ललितपुरको गोदावरी नगरपालिकामा नगर स्काउटको कार्यालय उद्घाटन, नगर स्काउटलाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा स्थापित गर्ने नगर कमिटिको अठोट ।
१०) सप्तरीको खडक नगरपालिकाले स्थानीय युवा क्लबलाई सरसफाइ सामग्री हस्तान्तरण गर्यो, सामग्री पाएपछि युवाले गरे बजार सरसफाइ ।
११) पर्साको विश्रामपुर गाउँपालिकाले संविधान दिवसको अवसरमा आयोजना गर्यो दौड प्रतियोगिता, प्रथम हुनेलाई नगद तीन हजार रुपैयाँ प्रदान ।
१२) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम सार्वजनिक, कक्षा ८ सम्मका विद्यार्थीले पुस्तक पढ्न पाउने ।
१३) नुवाकोटको किस्पाङ गाउँपालिकाले दुई जना उद्यम विकास सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले १४ असोजभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
१४) बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा चतुर्दशीको अवसरमा लाग्ने जात्रा मनाउन दशरथचन्द नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।
१५) दाङको तुलसीपुर उपमहानगरपालिकाकाको आयोजनामा संघीयता कार्यान्वयनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि लगायतको सहभागिता ।
१६) जुम्लाको चन्दननाथ नगरपालिकाले लामो समयदेखि फोहोर नउठाएर बजार दुर्गन्धित भएपछि संविधान दिवसको अवसरमा गरियो सरसफाइ, कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको साथ ।
१७) विभिन्न माग राख्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइयो, मागको कुनै सम्बोधन नै नगरी ताला फुटाएको भन्दै स्थानीय आक्रोशित ।
१८) बागलुङ नगरपालिकाले ४ असोजदेखि पालिकाभित्रका विद्यालय खुलाउने, दैनिक चार घन्टा पठनपाठन सञ्चालन गर्ने शिक्षा समितिको निर्णय ।
१९) संविधान दिवसको अवसरमा देशभरका पालिकाले गरे विभिन्न कार्यक्रम, नौ जना जनप्रतिनिधिले पाए सुप्रवल जनसेवा श्री पदक र तीन प्रमुख प्रशासकीय अधिकृत पनि प्रवल जनसेवा श्री पदकबाट सम्मानित ।
२०) सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा वडा सचिव र कम्प्युटर अपरेटका लागि सञ्चालन गरिएको तीन दिने सफ्ट्वेयर तालिम सम्पन्न ।