जुम्ला– जुम्ला मुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा फोहोर उठाएर सरसफाइ गरी संविधान दिवस मनाइएको छ । चन्दननाथ नगरपालिकाले सरसफाइ तथा फोहोर संकलन गर्नुपर्ने हो । तर, लामो समयदेखि फोहोर नठाएर बजार दुर्गन्धित भएपछि संविधान दिवसकै दिन फोहोर उठाएर सरसफाइ गरिएको हो ।
संविधान दिवस अवसर पारेर जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधि भेला भएर सरसफाइ गरिएको हो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार जनप्रतिनिधिले चुनावका बेला अगाडि सारेका नाराअनुसार काम भएनन् । उनले भने, ‘अहिले आफैंले घोषणा गरेका नारा कार्यान्वयन नहुँदा असफल भइसकेका छन् । घरगाउँका कुरा नगरौँ, यही बजार क्षेत्र पनि सधैं सेना, प्रहरीले सरसफाइ गर्नुपरेको छ ।’ फोहोर व्यवस्थापनको दीर्घकालीन योजना नहुँदा नगर सधैँ दुर्गन्धित भएको उनको भनाइ छ । फोहोर उत्पादनकर्ताबाट कर संकलन गरिए पनि नगरपालिकाले व्यवस्थापन नगर्दा समस्या देखिएको उनले बताए ।
चन्दननाथ नगरपालिका वातावरण तथा सरसफाइ शाखा प्रमुख नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपानेका अनुसार डम्पिङ साइट व्यवस्थापन नभएकाले नियमित रूपमा बजारको फोहोर नउठेको हो । उनले भने, ‘फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन योजना बनाएका छौँ । अब नियमित रूपमा फोहोर संकलन गरिनेछ ।’ नियमित नभए पनि बेलाबेला नगरपालिकाले फोहोर उठाउने गरेको र कर नलिएको उनको दाबी छ ।
संविधान दिवस अवसरमा सरकारले धार्मिक तथा पर्यटन क्षेत्र सरसफाइ गर्नू भन्ने परिपत्र गरेकाले सरसफाइ गरी दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘नगर सरसफाइ तथा फोहोर संकलन गर्ने नगरपालिकाकै दायित्व र जिम्मेवारी हो । यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्दछ । आफ्नो घरआँगनबाट उत्पादित फोहोर आफैं व्यवस्थापन गर्नुपर्छ ।’
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले डम्पिङ साइटमा सडक पु¥याउनकै लागि धेरै बजेट खर्च भएको बताए । तर, फोहोर व्यवस्थापन भने हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘बजेट पनि नरहने, फोहोर पनि व्यवस्थापन नहुने । सबै आ–आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले बजारमा थुनेर हिँड्नुपर्ने स्थिति आएको हो ।’