काठमाडौं– महालेखा परीक्षकको कार्यालयले बेरुजु कार्यान्वयनको कार्ययोजना १५ दिनभित्र तयार पार्न स्थानीय तहसहितका सबै निकायलाई सरकारमार्फत परिपत्र गरेको छ । महालेखा परीक्षक कार्यालयको अनुरोधमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो परिपत्र गरेको छ ।
परिपत्रअनुसार बेरुजु फस्र्योटको मासिक प्रगति विवरण प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र पेस गरिसक्नुपर्नेछ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनमा समावेश भएका बेरुजु कार्यान्वयनको कार्ययोजना १३ असोजभित्र तयार पारिसक्नुपर्ने गरी परिपत्र गरिएको हो ।
देशभरका सबै स्थानीय तह, स्थानीय पूर्वाधार विभाग पुल्चोक ललितपुर, ग्रामीण सडक सञ्जाल पूर्वाधार आयोजना, पुल्चोक ललितपुर, सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक, ललितपुर, निजामती कर्मचारी अस्पताल मीनभवन काठमाडौं र नेपाल प्रशासनिक प्रतिष्ठान जावलाखेल ललितपुरलाई परिपत्र गरिएको हो ।
यस्तै, जिल्ला समन्वय समितिका कार्यालय क्रमशः ताप्लेजुङ, बारा, भक्तपुर, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, सल्यान, डोल्पा, काठमाडौं, कालीकोट, सिराहा, मकवानपुर, नुवाकोट, काभ्रे, सिन्धुली, गुल्मी, सर्लाही, स्याङ्जा, सुनसरी, कास्की र अर्घाखाँचीलाई परिपत्र गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३८ मा बेरुजुको लगत राख्ने तथा दफा ३९ मा बेरुजु फस्र्योट गर्ने/ गराउने प्रावधान छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८८ मा बेरुजुको लगत राख्ने र सोही नियमावलीको अनुसूची–१४ मा बेरुजु फस्र्योट (लक्ष्य र प्रगति) को विवरण तथा एकीकृत प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख छ ।
लेखा परीक्षण ऐन, २०७५ को दफा २१ मा महालेखाले जारी गरेको प्रतिवेदनको कार्यान्वयन गर्नु सम्बन्धित जिम्मेवार पदाधिकारीको कर्तव्य हुने र दफा २२ मा संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण गर्दा देखिएका बेरुजु सम्वन्धित निकायले कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख छ ।
सोही ऐनको दफा २१(२) मा महालेखाले जारी गरेको प्रतिवेदनमा उल्लेख भएका विषय सुधार भए÷नभएको सुनिश्चित गर्न लेखापरीक्षण गरिएका निकायबाट भएका काम–कारबाहीको प्रतिवेदन लिने, कार्यान्वयनका लागि समय तोक्ने, पुनः जाँच गर्ने र त्यस सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनेलगायत कार्य महालेखाले गर्न सक्ने व्यवस्था छ ।
सोही व्यवस्थालाई आधार मानेर महालेखाले बेरुजु कार्यान्वयनको कार्ययोजना तयार र प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र बेरुजु फस्र्योटको प्रगति पेस गर्न उल्लिखित निकायलाई अनुरोध गरेको हो ।