हुम्ला–नेपाल–चीन सीमा अध्ययन गर्न गठन भएको गृह मन्त्रालयको टोली लिमी, लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन सकाएर हिल्सा पुगेको छ । सदरमुकाम सीमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो ।
गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा गाउँपालिका वडा नम्बर ६ का स्थानीय लिमी लाप्चा पुगेर हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि यहाँ आएको हो । हुम्ला आएकामा संयोजक आचार्यसँग सदस्यहरू उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटुवाल छन् ।
नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नम्बर ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीय टोली पनि लिमी लाप्चाको १२ नम्बर सीमास्तम्भमा पुगेको छ । उक्त टोली २७ भदौमा सीमकोटबाट लाप्चा प्रस्थान गरेको थियो । हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यले बताए ।