काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकामा नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकलाई दर्जानी चिह्न प्रदान गरे । उक्त अवसरमा प्रहरीले कवाज प्रदर्शनीका साथै भीआईपी सुरक्षा र अग्नि नियन्त्रणसम्बन्धी ड्रिल प्रदर्शनी गरेका थिए । नगर प्रमुख श्रेष्ठले नवनियुक्त नगर प्रहरीलाई प्रमाणपत्र र तालिमका प्रशिक्षक र सहजकर्तालाई प्रशंसापत्र वितरण गरे ।
नगर प्रमुख श्रेष्ठले ३० दिने आधारभूत तालिमबाट नगर प्रहरीमा कर्तव्यनिष्ठ र अनुशासित भई शिष्टाचारसहित नगरबासीको सेवामा खटिन सक्ने क्षमताको विकास भएको बताए । ‘स्वच्छ, सफा, समृद्ध, सुन्दर महालक्ष्मी नगर’ लक्ष्य प्राप्त गर्न नगर प्रहरीको समेत महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ । श्रेष्ठले तालिम सञ्चालनमा योगदान गर्ने प्रशिक्षक, सहजकर्ताका साथै भौतिक पूर्वाधार उपलब्ध गराई सहयोग गर्ने वडा नम्बर ९ स्थित शुभतारा स्कुलप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार न्यौपानेले दीक्षित हुने नगर प्रहरीलाई बधाइ दिए । नगरपालिकाले हालै १ जना नगर प्रहरी नायब निरीक्षक, २ जना नगर प्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी १४ जना करार सेवामा नियुक्त गरेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत सापकोटा, वडा नम्बर १ देखि १० का वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा नम्बर ९ का सदस्य, महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुका प्रभाग प्रमुख, नगरपालिकाका शाखा प्रमुखलगायत सहभागी थिए ।