देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले १ असोजबाट विद्यालय खोल्ने, शिक्षा समितिको बैठकले गर्यो यस्तो निर्णय ।
२) गत वैशाखदेखि बन्द भएका नवलपुरको गैंडाकोट नगरपालिकाका विद्यालय खुले, भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने पालिकाको निर्णय ।
३) अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि फार्मलाई ७५ प्रतिशत अनुदानमा मिल्क क्यान वितरण गर्ने, इच्छुक फार्मले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।
४) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा ल्यायो, भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायतका स्थानमा पुग्न सहज ।
५) पर्वतको कुश्मा नगरपालिकाले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने, १ असोजबाट पठनपाठन सुरु गर्ने पालिकाको निर्णय ।
६) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।
७) रामेछाप नगरपालिकाले महिलालाई ड्राइभिङ तालिम दिन सुरु गर्यो, तालिममा २० जनाको सहभागिता ।
८) चितवनको रत्ननगर नगरपालिकाले मुख्य सहरी क्षेत्रमा सिसीक्यामेरा जडान गर्यो, पाँच किलोमिटर सडकमा २२ वटा सिसीक्यामेरा जडान ।
९) धुलोले हैरान भएको भन्दै झापाको भद्रपुर नगरपालिकाका स्थानीय आन्दोलित, ठेकेदारले समयमै कालोपत्रे नगरेको भन्दै स्थानीयले मेची राजमार्गको चारआली-केचना सडक खण्ड दुई घन्टा बन्द गरे ।
१०) तेह्रथुमको म्याङलुङ नगरपालिकाले कोरोनाका कारणले बन्द भएका विद्यालय तथा क्याम्पस खोल्ने निर्णय गर्यो, विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिने ।
११) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ को डिपोचौरमा स्लाब ढलान गरी सडक निर्माण गरिने, नगरप्रमुख हरिबहादुर महतले गरे सडकको शिलान्यास ।
१२) विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखा परीक्षकलाई सूचीकृत हुन संखुवासभाको धर्मदेवी नगरपालिकाले जारी गर्यो सूचना, इच्छुकले १५ दिनभित्र पालिकाका निवेदन दिनुपर्ने ।
१३) बाजुराको जगन्नाथ गाउँपालिकाले ३ जना स्वयंसेवक शिक्षकका लागि विज्ञापन खुलायो, इच्छुकले ७ असोजसम्म दरखास्त बुझाउनुपर्ने ।
१४) कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनले गर्यो तालाबन्दी, आफूहरुले उठाएका ६ बुँदे माग सम्बोधन गर्न नगरपालिकाले तदारुकता नदेखाएको गठबन्धनको आरोप ।
१५ गोरखाको चुमनुव्री गाउँपालिकाका वासिन्दाले पहिरोका कारण बस्ती जोखिममा परेको भन्दै नियन्त्रणका लागि बजेट व्यवस्था गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग माग गरे, वडा नम्बर ३ का गाउँ जोखिममा ।
१६) बर्दियाको बारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सिए विषय अध्ययनका लागि तीन जना विद्यार्थीलाई छात्रवृत्ति दिने, इच्छुक विद्यार्थीले पालिकामा निदेदन दिनुपर्ने ।
१७) हुम्लाको खार्पुनाथ गाउँपालिकामा १ साउनबाट बन्द रहेका सामुदायिक स्वास्थ्य इकाइलाई पुनः सञ्चालनमा ल्याइयो, पालिकामा रहेका ५ वटै इकाइ सञ्चालन ।
१८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा वडा नम्बर ८ मा जनतासँग मेयर कार्यक्रम सम्पन्न, कार्यक्रममा नगरबासीले राखे विभिन्न गुनासा ।
१९) लमजुङको बेँसीसहर नगरपालिकाले विभिन्न पदमा तीन जना कर्मचारी करारमा भर्ना गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
२०) नगरभित्र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काभ्रेको नमोबुद्ध नगरपालिकाले ट्राफिक प्रहरीलाई ह्वील लकर तथा सेफ्टी क्याप प्रदान गर्यो ।