देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) कैलालीको घोडाघोडी नगरपालिकाको आयोजनामा समावेशी स्थानीय योजना तर्जुमासम्बन्धी सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिलगायतको सहभागिता ।
२) हुम्लाको हेल्दुङ साना जलविद्युत् आयोजनाले पाइप मर्मत गर्न एक साता विद्युत् आपूर्ति बन्द गर्यो, खार्पुनाथ र सीमकोट गाउँपालिकाका सेवाग्राही अँध्यारोमा बस्न बाध्य ।
३) बैतडीका पाँच स्थानीय तहका विद्यालय खुले, दशरथचन्द, पाटन नगरपालिकासँगै शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु ।
४) काभ्रेको नमोबुद्ध नगरपालिकाले करारमा ३ जना नगर प्रहरी भर्ना गर्न विज्ञापन खुलायो, इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।
५) कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिकाको सटरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई लकडाउन अवधिको भाडा छुट गर्यो, ४८ दिनको भाडा छुट गर्ने पालिकाको निर्णय ।
६) सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ बोल्दे घट्टेखोला क्षेत्रमा जमिन भासियो, ६६ घर उच्च जोखिममा ।
७) ललितपुरको महालक्ष्मी नगरपालिकाले चालू वर्ष कृषि पकेट कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रममा सहभागी हुने फार्म तथा कृषकले १५ दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।
८) झापाको तत्कालीन दमक नगरपञ्चायतका प्रधानपञ्च धनबहादुर श्रेष्ठको निधन, श्रेष्ठको निधनको शोकमा दमक नगरपालिकाले २७ भदौमा शोक बिदा दिने निर्णय गर्यो ।
९) ललितपुर महानगरपालिकाले ७८ जना नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण दिन सुरु गर्यो, प्रशिक्षण ३ असोजसम्म चल्ने ।
१०) २९ भदौबाट विद्यालयमा पठनपाठन नियमित गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले मापदण्ड बनायो, २८ गतेभित्र शिक्षक तथा कर्मचारीलाई खोप लगाइसक्ने ।
११) नवलपरासीको बर्दघाट नगरपालिकाले २७ भदौदेखि नगरबासीलाई कोरोनाविरुद्घको खोप लगाउने, पालिकाले तोक्यो खोप केन्द्र ।
१२) मकवानपुरको भीमफेदी गाउँपालिकाले करारमा एक जना रोजगार संयोजक भर्ना गर्ने, योग्यता पुगेका उम्मेदवारले पालिकामा १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।
१३) आधारभूत तालिम लिएका मेलमिलाकर्तालाई सूचीकृत हुन काभ्रेको बेथानचोक गाउँपालिकाले जारी गर्यो सूचना, १५ दिनभित्र सूचिकृत र अद्यावधिक गर्नुपर्ने ।
१४) देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखांकन प्रणालीको सुरुआत, प्रभावकारी सेवा प्रदान गर्न सहज हुने ।
१५) धनुषाको जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिकासँगै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले चौरचन पर्वको अवसरमा दिए सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।
१६) प्रदेश २ को सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट नागरिकता घुम्ती सहयोग केन्द्र अभियानका रूपमा सुरु, विभिन्न कारणले नागरिकता प्राप्तिबाट वञ्चित रहेकालाई अभियानले सघाउने ।
१७) कपिलवस्तुको विजयनगर गाउँपालिकाले ढुंगा, गिटी र बालुवाको बिक्री कर संकलन गर्न विद्युतीय बोलपत्र आह्वानको सूचना जारी गर्यो, इच्छुक कम्पनीले २२ असोजसम्म बोलपत्रमा भाग लिनुपर्ने ।
१८) तनहुँको शुक्लागण्डकी नगरपालिकाले पशु शाखाअन्तर्गत चालू वर्षको कार्यक्रमका लागि निवेदन पेस गर्न सूचना जारी गर्यो, इच्छुक कृषकले ३० दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।
१९) धनुषाको शहिदनगर नगरपालिकाले एमबीबीएस डाक्टर र ल्याब असिस्टेन्ट करारमा नियुक्त गर्ने, १५ दिनभित्र इच्छुकले पालिकामा दरखास्त बुझाउनुपर्ने ।
२०) उपमहानगर क्षेत्रमा बौलाहा कुकुरको आतंक बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक सम्पन्न, पालिकाले घरपालुवा तथा छाडा छोडिएका कुकुरलाई एन्टी रेबिज भ्याक्सिन लगाउने ।