देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) ५५औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, कार्यक्रममा सहभागी विद्यार्थीलाई बाँडियो पुरस्कार ।
२) गत वैशाखदेखि बन्द भएका दाङको तुलसीपसर उपमहानगरपालिकाका विद्यालय २७ भदौदेखि सञ्चालनमा आउने, भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने पालिकाको निर्णय ।
३) लमजुङको बेँसीसहर नगरपालिकाले विभिन्न पदमा तीन जना कर्मचारी करारमा भर्ना गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
४) झापाको भद्रपुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईको सरुवा, पालिकाले कार्यक्रम आयोजना गरी भट्टराईलाई गर्यो बिदाइ ।
५) काठमाडौंको तारकेश्वर नगरपालिकाका विद्यालय २७ भदौदेखि सञ्चालन हुने, शिक्षा समितिको बैठकले गर्यो यस्तो निर्णय ।
६) तनहुँको शुक्लागण्डकी नगरपालिकाले पशु शाखाअन्तर्गत चालू वर्षको कार्यक्रमका लागि निवेदन पेस गर्न सूचना जारी गर्यो, इच्छुक कृषकले ३० दिनभित्र पालिकामा निवेदन दिनुपर्ने ।
७) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि चालू वर्ष कार्यक्रम सञ्चालन हुने, कार्यक्रममा सहभागी हुने फार्म तथा कृषकले १८ असोजसम्म पालिकामा निवेदन दिनुपर्ने ।
८) बागलुङ र पर्वत जोड्ने विश्वकै लामो झोलुंगे पुललाई बागलुङ नगरपालिकाले गण्डकी गोल्डेन ब्रिज नामकरण गर्यो, नाम जुराउने घनश्याम सापकोटालाई पालिकाले २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने ।
९) ललितपुर महानगरपालिकाले ७८ जना नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण दिन सुरु गर्यो, प्रशिक्षण ३ असोजसम्म चल्ने ।
१०) कपिलवस्तुको विजयनगर गाउँपालिकाले ढुंगा, गिटी र बालुवाको बिक्री कर संकलन गर्न विद्युतीय बोलपत्र आह्वानको सूचना जारी गर्यो, इच्छुक कम्पनीले २२ असोजसम्म बोलपत्रमा भाग लिनुपर्ने ।
११) बाँकेको कोहलपुर नगरपालिकाले हरितालिका तिजको अवसरमा २४ भदौमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द हुने ।
१२) झापाको दमक नगरपालिकाले सिटी सफारीको ब्लुबुक नवीकरण गर्न जारी गर्यो सूचना, भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने ।
१३) सिन्धुलीको दुधौली नगरपालिकाको निपाने स्वास्थ्य चौकीमा कार्यरत अहेब भीमबहादुर बस्नेतको निधनको शोकमा पालिकाले दियो शोक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।
१४) विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि खुल्न थाले रूपन्देहीका विद्यालय, तिलोत्तमा नगरपालिकाभित्रका विद्यालय ४ असोजदेखि सञ्चालन गरिने ।
१५) काठमाडौंको चन्द्रागिरि नगरपालिकाले वडा नम्बर ६ को कार्यालयमा रहेको ६ वटा सटर र २ वटा कबल भाडामा लगाउने, इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्ने ।
१६) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभरिका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कोभिड-१९ विरुद्धको खोप लगाए-नलगाएको विवरण माग गर्यो, २५ भदौभित्र विवरण पठाउनुपर्ने ।
१७) कञ्चनपुरको भीमदत्त नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने, पहिलो चरणमा १४ युवाले पाए शून्य ब्याजदरमा सहुलियत कर्जा ।
१८) डडेलधुराको परशुराम नगरपालिकाले एक जना सूचना प्रविधि अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
१९) काभ्रेको नमोबुद्ध नगरपालिकाको आयोजनामा जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन योजना कार्यशाला गोष्ठी सम्पन्न, कार्यक्रममा विभिन्न सरोकारवालाको सहभागिता ।
२०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप लगाइँदै, खोप लगाउन पालिकाले तोके केन्द्र ।