काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको सबै फोहर उठ्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने जनाएको छ । कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा विगत रोकिएको फोहर बुधबारदेखि व्यस्थापन गर्न थालिएको भए पनि मौसमले साथ दिए सबै फोहर उठ्न करिब एक हप्ता लाग्ने बताइएको छ ।
मंगलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, वरिष्ठ प्रहरी उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो ।
फोहर उठ्न थालेको भए पनि यसअघि थुप्रिएका धेरै स्थानमा फोहरको डङ्गुर उस्तै छ । प्रमुख शाक्यले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी कामपाको मात्रै नभई सम्पूर्णको समस्या रहेको भन्दै त्यसको सकारात्मक समाधानका लागि सबैतिरबाट अपेक्षा गरेको बताए ।
विगत १८ दिनदेखि सिसडोलका स्थानीयवासीले अवरोध गर्दा र नियमित पानी परिरहँदा जाने बाटो बिग्रिएको भन्दै फोहर उठ्न सकेको थिएन । मंगलबारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि फोहर व्यवस्थापन हुन थालेको हो ।
लामो समयसम्म फोहर उठ्न नसकेकाले करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको पनि वातावरण विभागले जानकारी गराएको छ । कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको दुई हप्तापछि फोहर व्यवस्थापनको शुरुआत भएको हो । सिसडोलमा २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।