काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी पहिराले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् । झण्डै छ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेवल र २९ वटा झोलुंगे पुलमा क्षति भएको छ । झण्डै ८०० घर पूर्ण क्षति भएको छ । नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्ने छ ।
मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण हजारौँ घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्यांक छ ।
प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौ जनाको मृत्यु भइसकेको छ । अन्य ६ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिए । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मंगलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ । यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ ।
मौसमविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिए । उनले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत पानी पर्नेछ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १ सय ८२ मिलिमिटर पानी परेको छ । चितवनमा १ सय २७, पाल्पामा १ सय २४ र नवलपरासीमा १ सय १५ मिलिमिटर पानी परेको छ । वर्षा जारी रहेकाले प्राधिकरणले क्षति कसरी कम गर्न सकिन्छ र जोखिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आज दातृ निकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो । बैठकमा रुपन्देही र आसपास एक दिनमा ४ सय ५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो ।
अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ । गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोशीमा बहाव बढेको नभई थेग्य्रान बढेकाले नदीमाथि आएको हुँदा डुबान हुने सम्भावना कायमै छ । साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्टो क्रममा रहेको जनाइएको छ । जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विष्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिए ।
नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ । डुबेकामध्ये १० प्रतिशत पूर्ण क्षति छ । १ हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगब्याधि निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ ।
मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिए । मंगलबार भने पूर्वतर्फ प्रभाव पार्ने उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घटना बेहोर्नुपरेको बताए ।