हुम्ला– हुम्लाको सदरमुकाम सीमकोटदेखि आसपास क्षेत्रका गाउँपालिकासम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा लिने गरेका छन् । जिल्ला सदरमुकाम सीमकोट गाउँपालिकादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जम्मा ११ किलोमिटर दूरी रहेको छ । यहाँ चल्ने जिप तथा बोलेरोले ३०० देखि ५०० रुपैयाँसम्म भाडा लिने गरेको स्थानीय कुम्मेर हमालले गुनासो गरे ।
निषेधाज्ञाअघि ३५० भाडा लिएको ठाउँमा अहिले ५०० रुपैयाँसम्म लिन थालेका छन् । तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालले बताए ।
सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोए पनि सीमकोटदेखि अन्तरपालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरी यात्रुबाट भाडा लिन थालेका हुन् ।
व्यवसायीले टिकटसमेत नदिने गरेको यात्रुले बताए । ‘मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन । जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्छन्,’ हमालले भने ।
गाडी चालकले सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको उनको भनाइ छ । जिप चालकले यात्रुबाट बढी भाडा लिने गरेको विषयमा अनुगमनसमेत भएको छैन । सदरमुकाम सीमकोटमा मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरे पनि सदरमुकामबाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुले थप सास्ती पाएका हुन् ।