सुर्खेत– दैलेखको ठाटीकाँध गाउँपालिकाले बिरामीलाई समयमै उद्दार नसक्दा दुई जनाले अकालमा ज्यान गुमाएका छन् । गाउँपालिकाले कहिले पैसा नभएको र कहिले एम्बुलेन्स बिग्रेको भने उद्दारमा बेवास्ता गरेका कारण उनीहरूको ज्यान गएको हो ।
घटना १ :
गत वर्ष २०७६ भदौमा ठाटीकाँध वडा नम्बर १ सिराडीकी २३ वर्षीया पार्वती शाहीको समयमै उद्दार नहुँदा मृत्यु भएको थियो । आफन्तले बारम्बार गाउँपालिकासँग उद्दारका लागि हारगुहार गरे पनि पालिकाले समयमै उद्दार गर्नमा चासो दिएन ।
पालिकाकै लापरबाहीले सुत्केरी महिलाको ज्यान गयो । पार्वतीको मृत्युपछि उनका आफन्तले गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दीसमेत गरे ।
घटना २ :
बुधबार गाउँपालिकाको वडा नम्बर ५ का मञ्जु विककी डेढ महिने छोरीको पनि समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा मृत्यु भएको छ । डेढ महिने छोरीमा अकस्मात श्वासप्रश्वासमा समस्या आएपछि मञ्जुले प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगेकी थिइन् ।
प्राथमिक स्वास्थ केन्द्रले सक्दो उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको थियो । प्राथमिक स्वास्थ केन्द्रले सुर्खेत रेफर गर्दा आफन्तले एम्बुलेन्स खोज्न थाले । त्यसका लागि गाउँपालिकालाई अनुरोध गरियो ।
तर, गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले एम्बुलेन्सको भाडास्वरूप ९ हजार रुपैयाँ अग्रिम भुक्तानी मागे । शिशुका आफन्तसँग तुरुन्तै एम्बुलेन्सलाई दिन पैसा थिएन ।
शिशुका आफन्तले गाउँपालिका अध्यक्ष शाहीलाई पहिले बालिकालाई अस्पताल पु¥याइदिनुस् अनि पैसाको जोहोमा लागौँला भन्दा पनि उनले नमानेको गुनासो गरे ।‘पैसा जोहो पछि गरे भइहाल्थ्यो । मानिसभन्दा पैसा ठूलो हुँदा अहिले एम्बुलेन्स अभावकै कारण शिशुको मृत्यु भयो,’ आफन्तको गुनासो छ ।
शिशुका आफन्तसँग तत्काल ९ हजार रुपैयाँ थिएन । त्यसपछि उनीहरू सहयोगका लागि प्रहरीकहाँ पुगे । प्रहरीको सहयोगमा ८ घन्टापछि एम्बुलेन्स प्रदेश अस्पताल पठाइयो ।
त्यतिबेला नवजात शिशुको अवस्था निकै नाजुक बनिसकेको थियो । एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घन्टा मात्र बाँकी छँदा सुर्खेतको बड्डीचौरमा बुधबार बिहान साढे ४ बजे शिशुको ज्यान गयो ।
पीडितका आफन्तले समयमै गाउँपालिकाले सहयोग गरेको भए शिशुको ज्यान बच्ने बताए । गाउँपालिका अध्यक्ष शाहीले आफ्नो कमजोरी अस्वीकार गरे । ‘एम्बुलेन्स उपलब्ध गराइएन भन्ने कुरा गलत हो,’ उनले भने, ‘एम्बुलेन्सका ड्राइभर किशोर विक हुन् । उनले पैसा मागेका हुन् । मकहाँ त्यो कुरा पुगिसकेपछि एम्बुलेन्स लैजान भने पनि उनले मानेनछन् ।’
आफूले नै प्रहरीसँग समन्वय गरेर एम्बुलेन्स व्यवस्था गरेको शाहीको दाबी छ । ‘ठाटीकाँध गाउँपालिका वडा नम्बर ५ तोलीजैसीबाट सुर्खेत पुग्न एम्बुलेन्सलाई बढीमा ५ घन्टा लाग्छ । ८ बजे एम्बुलेन्स हिँडे पनि १ बजे सुर्खेत पुग्नुपथ्र्यो । तर, शिशुको ज्यान बिहान ४ बजे बीच बाटोमै गएको छ । यसले पनि गाउँपालिका अध्यक्षले झुटो बोलेका पुष्टि हुन्छ’, बिरामीका आफन्तले भने ।