सुनसरी– जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा फैसला भई कैद वा जरिमाना तोकिए पनि फस्र्योट नगरी फरार रहेका ८३ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले एकै दिन पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार एकै दिन कैद तथा जरिमाना तोकिएका ८३ जना फरार अभियुक्तलाई पक्राउ गरिएको हो । अदालतले गरेको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरू एकै दिन पक्राउ परेका हुन् ।सुनसरी प्रहरीका अनुसार पक्राउ परेकालाई अदालतमा पेस गरिएको छ ।
चालू आर्थिक वर्षमा बुधबार पक्राउ परेका ८३ जनासहित कुल ३८३ जना फरार अभियुक्त पक्राउ परेका हुन् । अदालतको अभिलेखअनुसार उनीहरूको ८० वर्ष २ महिना २३ दिन कैद सजाय फस्र्योट भएको छ भने १४ लाख ८९ हजार ५०० जरिमाना असुल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी, लागूऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, गालीबेइज्जतीलगायत मुद्दा छन् ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अभियानमा विशेष सुराकीका अधारमा २३८ जना फरार अभियुक्तलाई पक्राउ परेको थियो । पक्राउ पर्नेमा ५५ महिला र १ सय ८३ जना पुरुष थिए ।