भक्तपुर- भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित १ सय ८ रोपनी जग्गामा बसपार्क बनाएर लामो दूरीका यातायात सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले गरेको प्रस्तावलाई अमान्य रहेको बताएको छ । भक्तपुर नगरपालिकाले सो क्षेत्रमा बसपार्क सञ्चालन गरे नगरको सामाजिक र सांस्कृतिक क्षेत्र प्रभावित हुने स्थानीयको स्वास्थ्य सुरक्षामा समेत असर पुग्ने बताउँदै विरोध जनाएको हो ।
काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भक्तपुर सल्लाघारी तीनकुने सडक किनारबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने प्रतिवदेनमा उल्लेख गरेको थियो । सो विषयलाई लिएर २२ साउनमा खड्गीको नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुरका नगरप्रमुख सुनील प्रजापतिसँग सामान्य छलफल गरेको थियो ।
नगर प्रमुख प्रजापतिले बसपार्क क्षेत्रमा हुने वातावरणीय र सांस्कृतिक प्रदूषण, आर्थिक र सामाजिक प्रभावलगायत विषयमा थप अध्ययन हुनुपर्ने सुझाव दिएको बताए । ‘उक्त जग्गामा भक्तपुर नगरपालिकाले २०६० देखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सोअन्तर्गत चिकित्साशास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना छ । सो विषयमा उपप्रमुख खड्गीलगायत कार्यदलका सबै सदस्यलाई जानकारी गराएका थियौँ,’ उनले भने ।
काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकार बाहिर गएर भक्तपुरको वडा नम्बर १ सल्लाघारीको १०८ रोपनी खुला जग्गामा पार्किङ व्यवस्थाका लागि प्रतिवेदन तयार पारेको जनाएको छ । नगर प्रमुख प्रजापतिले महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न आग्रह गरेका छन् ।
महानगरले भक्तपुर नगरपालिकासँग सहमतिबिना यातायात सञ्चालनसम्बन्धी पेस गरेको प्रतिवेदनलाई गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रूपमा लिएको जनाएको छ । नेपाल ट्रस्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले ट्रस्टसँग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई संरक्षण गर्दै आएको छ ।
नगरप्रमुुख प्रजापतिले भने, ‘नेपाल ट्रस्ट नियमावली, २०६५ मा ट्रस्टको सम्पत्तिलाई विद्यालय, महाविद्यालय वा विश्वविद्यालयजस्ता शैक्षिक संस्था र स्वास्थ्य संस्था खडा गरी सञ्चालन गर्ने÷गराउनेलगायत शैक्षिक क्षेत्रमा सदुपयोग गर्न उपलब्ध गराउने उल्लेख छ । सो क्षेत्रमा बसपार्क सञ्चालन गर्नु नियमसम्मत छैन ।’
ख्वप विश्वविद्यालयका लागि पहल
भक्तपुर नगरपालिकाले सो क्षेत्रमा ख्वप विश्वविद्यालय सञ्चालन हुने जानकारी दिएको छ । त्यसका लागि ख्वप विश्वविद्यालयको विधेयक तयारी गरी २०६४ मा उक्त विधेयक शिक्षामन्त्रालयमा पठाइसकेको छ । ढिलो गरी विधेयक संसद्मा पुगे पनि अहिलेसम्म छिनोफानो भएको छैन । अन्य विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक संसद्मा पेस भए पनि पारित भइसकेका छैनन् ।
२०६८ सम्ममा ख्वप विश्वविद्यालयको विधेयकबारे शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबीच लुकामारी नै चलेको थियो । सो क्रममा भक्तपुर नगरपालिकाले शिक्षा मन्त्रालयमा ताकेता गरिरह्यो र सम्भाव्यता अध्ययनका लागि संसदीय टोली गठन भयो ।
उक्त टोलीले ख्वप विश्वविद्यालयको पूर्वाधार अध्ययन गरेर सरोकारवालासँग छलफल गर्यो र ख्वप विश्वविद्यालयसँग पर्याप्त पूर्वाधार भएको निष्कर्ष निकाल्यो । विधेयक सांसदको हातहात पुगे पनि संसद्मा औपचारिक रूपमा अझै पेस भएको छैन ।