काठमाडौं- सडक विभागले यो वर्षको बाढीपहिरोका कारण सडक र पुल भत्किँदा ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । सडक विभागका अनुसार २ महिने अवधिमा सडकमा २ अर्ब २० करोड र पुलमा ८० करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
जेठदेखि साउन मसान्तसम्मको अवधिमा मुलुकभरका विभिन्न सडक खण्ड र २६ वटा पुलमा आंशिक तथा पूर्ण गरी उक्त मूल्य बराबरको क्षति भएको हो । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्षको बाढीपहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको जानकारी दिए ।
सार्वजनिक निकायको मात्रै नभएर निर्माण व्यवसायीले निर्माण गर्दै गरेका ८ वटा पुलमा भएको क्षति समावेश गरी प्रारम्भिक अनुमान निकालिएको उनको भनाइ छ ।
अहिले विभागले अत्यावश्यक देखिएका स्थानका सडकमा सम्बन्धित सडक डिभिजन कार्यालयमार्फत काम गरिरहेको प्रवक्ता नेपालले बताए । तर, ठूलो मात्रामा क्षति भएर पुनर्निर्माण तथा पुनःस्थापना नै गर्नुपर्ने सडक तथा पुलका लागि समय लाग्ने उनले जानकारी दिए ।
बाढीपहिरोबाट क्षति भएका सडक र पुलको पुनर्निर्माण तथा पुनःस्थापना गर्न विभागले विगत वर्षदेखि छुट्टै बजेट माग गर्दै आए पनि व्यवस्थापन हुन सकेको छैन ।
विभागले नियमित बजेट तथा आवधिक मर्मतसम्भारका लागि आउने बजेटबाटै क्षति भएका संरचना निर्माण गर्दै आएको छ । अहिले सडक बोर्ड नेपालको समन्वयमा विभिन्न सडक डिभिजन कार्यालयलाई विभागले ११ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
यो बजेट आकस्मिक मर्मतसम्भारका लागि उपलब्ध गराइएको विभागले जानकारी दिएको छ । बाढीपहिरोले क्षतिग्रस्त सडक तत्काल निर्माण गर्नुपर्ने र अस्थायी रूपमा सञ्चालनमा ल्याउन पुल पनि यसरी नै बनाउन उक्त बजेट उपलब्ध हुन्छ ।
विभागका अनुसार हालसम्म मुलुकभरका १६९ स्थानका सडकमा क्षति भएको छ । त्यसमध्ये हालसम्म ९ वटा सडक खण्ड अवरुद्ध छन् भने एकतर्फी सञ्चालनमा आएका सडकको संख्या १०४ छ । दुवैतर्फ सञ्चालन भएका सडक भने ५६ छन् । मनाङ, सिन्धुपाल्चोक, लमजुङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्ड अझै पनि अवरुद्ध छन् ।
बाढीपहिरोका कारण सबैभन्दा बढी सडक अवरुद्ध मनाङमा भएको विभागको तथ्यांक छ । मनाङका ६ स्थान हालसम्म अवरुद्ध छन् । बाढीपहिरोले बेलीबिज्र तथा सडकको ट्रयाक बगाउनुका साथै ठूलो ढुंगासहितको पहिरोका कारण ती स्थान अहिले पनि अवरुद्ध रहेका हुन् ।
बाढीपहिरोले विभिन्न राजमार्गका सडक खण्डमा क्षति पुगेकामा अधिकांश स्थानमा अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । बाढीले क्षति पुर्याएका पाल्पा, बाजुरा, बैतडीलगायत सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएका छन् ।