देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) बैतडीको पाटन नगरपालिकाका विद्यालयमा कार्यरत बालविकास सहकर्ता र कर्मचारी तलब वृद्धिको माग राख्दै आन्दोलित, न्यूनतम तलब १५ हजार हुनुपर्ने माग ।
२) झापाको बिर्तामोड नगरपालिकाले स्थानीय पाठ्यपुस्तक विद्यालयलाई वितरण गर्न थाल्यो, कक्षा तीनदेखि आठ कक्षासम्मका विद्यार्थीले स्थानीय पुस्तक पढ्न पाउने ।
३) काँभ्रेको पाँचखाल नगरपालिकाले विभिन्न पदमा करारमा कर्मचारी पदपूर्ति गर्ने, इच्छुकले १५ दिनभित्र पालिकमा दरखास्त बुझाउनुपर्ने ।
४) कास्कीको पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध भएको चीनको नानिङ शहरले पोखरा पर्यटन परिषदको समन्वयमा महानगरलाई स्वास्थ्य सामग्री प्रदान गर्यो, सामग्रीले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने ।
५) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।
६) काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गर्यो, फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर उठ्न सकेन ।
७) दाङको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगका चुनढुंगा ढुवानी गर्ने टिपर राति मात्र सञ्चालन गर्न दिने, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म समय निर्धारण ।
८) भक्तपुर नगरपालिका अन्तर्गतका विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई दरखास्त बुझाउन पालिकाले जारी गर्यो सूचना, पालिकाको शिक्षा शाखामा १५ भदौसम्म बुझाउनुपर्ने ।
९) रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको नगर कार्यपालिकाको बैठक ५ भदौमा बस्ने, बैठकमा विभिन्न विषयमा छलफल हुने ।
१०) कपिलवस्तुको बाणगङ्गा नगरपालिका र कृषि विकास बैंक जितपुर शाखाबीच नगरपालिकाको भवनभित्र बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्झौता, सेवाग्राहीलाई हुने भो सहज ।
११) काठमाडौंको कीर्तिपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ९ मा गड्यौले मल उत्पादन सम्बन्धी तालिम जारी, २३ असोजसम्म चल्ने तालिममा स्थानीयको सहभागिता ।
१२) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ को कार्यालय भवन निर्माण गरिने, भवनको गरियो शिलान्यास ।
१३) गाउँमै प्राविधिक उत्पादन गर्न अर्घाखाँचीको मालारानी गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न शैक्षिक कर्जा दिने, गरिब, विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई पाँच वर्षसम्म रकम उपलब्ध गराइने ।
१४) जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष मेला नलाग्ने, कोरोना संक्रमण बढ्ने भन्दै मेला नगर्ने पालिकाको निर्णय ।
१५) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने, गत वर्षको स्वास्थ्य क्रियाकलापको पालिका स्तरीय समीक्षा जारी ।
१६) पर्साको वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालनमा ल्यायो, कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुरु ।
१७) सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएका स्थानीयलाई राहत उपलब्ध गराउने, कोरोना परीक्षणका लागि स्थानीयले वडाको स्वास्थ्य चौकीमा सम्पर्क गर्नुपर्ने ।
१८) हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि सेवा दिन थाल्यो, सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका नागरिकले सेवा पाउँने ।
१९) नवलपुरको मध्यविन्दु नगरपालिकाले सहकारी संस्थालाई लेखा परीक्षण अनुमतिका लागि चाहिने कामजात पेश गर्न सूचना जारी गर्यो, सहकारीले तत्काल कागजात बुझाउनुपर्ने ।
२०) बाँकेको कोहलपुर नगरपालिकाले एक जना मेडिकल अधिकृत करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।