महोत्तरी- मुख्यमन्त्री बेटी पढाँऊ, बेटी बचाँऊ अभियान अन्तर्गत प्रदेश २ सरकारले ८ वटै जिल्लाका विद्यालयमा अध्यनरत छात्रालाई साइकल वितरण थालेको छ ।
छात्राहरुलाई विद्यालय आउजाउमा सजिलो होस भनेर महोत्तरीवाट साइकल वितरण गरिएको प्रदेश २ मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
महोत्तरीको मट्टिहानी नगरपालिकाको लक्ष्मीनारायण विद्यालयमा अध्ययनरत ४३ जना छात्रालाई साइकल वितरण गरिएको थियो ।
प्रदेश सरकारले महिला सशक्तिकरण र सामाजिक, आर्थिक विकाशमा बाक्लो उपस्थिति गराउने उद्धेश्य अनुरुप ‘मुख्यमन्त्री बेटी पढाँऊ, बेटी बचाँऊ’ कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
महिलालाई निजामती सेवामा प्रवेश गराउने अभियान अन्तर्गत निःशुल्क लोकसेवा आयोगका तयारी कक्षाहरु, देशमै पहिलो पटक ५०५ आरक्षण कोटा, छात्रावृत्ति जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ ।
महिला सशक्तिकरणका लागि प्रदेशभर विभिन्न कार्यक्रम संचालन भइरहेको अवस्थामा कतिपय कार्याक्रम प्रभावकारी हुन नसकेको भन्दै गुनासो पनि बढेको छ ।
छोरीलाई विद्यालय पठाई उनिहरुको बैयक्तिक बिकासका अतिरिक्त ससक्तिकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको समन्वयकर्ता यादवको भनाइ छ ।