देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) डोटीको दिपायल सिलगढी नगरपालिकाले स्वास्थ्य शाखाबाट गत आर्थिक वर्षमा भएको प्रगतिबारे समीक्षा गर्यो, कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीयको सहभागिता ।
२) मोरङको सुन्दरहरैँचा नगरपालिकाले तीन वटा शैक्षिक संस्थालाई स्कुल बस हस्तान्तरण गर्यो, धेरै विद्यार्थी भएका विद्यालय र क्याम्पसलाई बस प्रदान ।
३) काभ्रेको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन थाल्यो, ज्येष्ठ नागरिकलाई स्वास्थ्य सामग्री पनि वितरण ।
४) ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि आवेदन पेश गर्न आह्वान गर्यो, विद्यार्थीले १५ दिन भित्र पालिकामा आवेदन दिइसक्नुपर्ने ।
५) सडक उपभोग दस्तुर र कवाडीजन्य सामग्री संकलन गर्न स्याङ्जाको गल्याङ नगरपालिकाले जारी गर्यो सूचना, इच्छुकले १५ दिन भित्र पालिकामा दरभाउपत्र पेश गर्नुपर्ने ।
६) बर्दियाको बारबर्दिया नगरपालिकाले धोवियाका कृषकलाई कृषि यन्त्र हस्तान्तरण गर्यो, अनुदानमा कृषि सामग्री पाउँदा कृषक दंग ।
७) बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य तर्फ करारमा कर्मचारी नियुक्त गर्ने, इच्छुकले १५ दिन भित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।
८) ललितपुर महानगरपालिकाले महानगरको काम व्यवस्थित र मर्यादित गर्ने उद्देश्यले एक्सन टिम बनायो, नगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा टिम परिचालन ।
९) बाढीपहिरोका कारण सडक अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा वैकल्पिक सडकमार्फत गाडी चलाउन थालियो, आवतजावतमा सहज ।
१०) भक्तपुरको सूर्यविनायक नगरपालिकाले घ्याम्पेडाडा पाटी भन्ज्याङ रानीकोट सडक निर्माण गर्न सुरु गर्यो, सडकको गरियो शिलान्यास ।
११) पाँचथरको याङवरक गाउँपालिकाले कृषक तथा कृषि समूहलाई कृषि सामाग्री वितरण गर्ने, सामग्री लिन इच्छुकले १५ दिन भित्र पालिका वा वडामा निवेदन पेश गर्नुपर्ने ।
१२) दाङको लमही नगरपालिकाले कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गर्न तीन जना कृत्रिम गर्भाधान कार्यकर्ता नियुक्त गर्ने, इच्छुकले कागजात सहित तीन दिन भित्र पशु शाखामा निवेदन पेश गर्नुपर्ने ।
१३) बाढी पहिरोले क्षति पुर्याएको मेलम्चीमा नदीलाइ पुरानै धारमा फर्काउन जुट्यो मेलम्ची नगरपालिका, चार वटा डोजरको प्रयोग गरेर तटवन्ध निर्माणको काम जारी ।
१४) दाङको घोराही उपमहानगरपालिकाले निःशुल्क मास्क वितरण अभियान सुरु गर्यो, अभियानमा स्थानीयवासी र संघसंस्थाको साथ ।
१५) झापाको दमक नगरपालिकाले विद्यालयसँग भर्ना भएका विद्यार्थीको कक्षागत विवरण माग्यो, शिक्षा शाखामा विवरण बुझाउनुपर्ने ।
१६) सल्यानको बागचौर नगरपालिकाले वडा नम्बर ५ सिर्पामा रहेको शहीद भरत स्मृति माविलाई स्वास्थ्य सामग्री वितरण गर्यो, स्वास्थ्य मापदण्ड पालना गर्दै जोर विजोर प्रणालीमा कक्षा सञ्चालन गर्न अनुमति ।
१७) काठमाडौं महानगरले गर्यो सम्पत्ति कर नतिर्नेको सूची सार्वजनिक, सम्पर्कमा नआउनेको सेवा बन्द गरिने ।
१८) सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुरमा २५ दिने सिपमुलक तालिम जारी, तालिमबाट उत्पादन हुने सामग्रीको बजारीकरणमा पालिकाले सहयोग गर्ने ।
१९) तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीचको विवाद समाधान, प्रहरीमा दिएको उजुरी दुवै पक्षले फिर्ता लिए ।
२०) र, कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडाअध्यक्ष खेमराज चौधरी सहित २ जना हतियार सहित पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।