१) पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अमेरिका सहनीसँगै वडा सदस्यद्वय बलिष्टर सहनी र रामआदेश सहनी खैरो हेरोइनसहित पक्राउ, सहनीले चढ्दै आएको पालिकाको ना१ब ३५९५ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रहरीद्वारा ७९ ग्राम खैरो हेरोइन बरामद ।
२) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।
३) सिरहाको नरहा गाउँपालिकाको शरण माविको चारकोठे भवन निर्माण हुने, पालिका अध्यक्ष रामशरण यादवले गरे भवनको शिलान्यास ।
४) कञ्चनपुरको बेदकोट नगरपालिकाले अस्थायी कोरोना अस्पतालका लागि एक जना मेडिकल अफिसर करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।
५) गुल्मीको धुर्कोट गाउँपालिकाले अर्घाखाँचीको छत्रदेव गाउँपालिकालाई ५ सय वटा सुन्तलाका बिरुवा प्रदान गर्यो, केही वर्षपछि छत्रदेवमा पनि सुन्तला खान पाइने ।
६) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर १० मा सुविधासम्पन्न बस टर्मिनल निर्माण सुरु गर्यो, टर्मिनल निर्माणपछि पालिकाको आन्तरिक स्रोत वृद्धि हुने ।
७) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले परिचयपत्र नवीकरण नगरे चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नदिने, साउन मसान्तसम्म परिचयपत्र नवीकरण गर्न पालिकाले जारी गर्यो परिपत्र ।
८) जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ को लागत साझेदारीमा वडामा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालन, अब वडाबासीको घर-घरमा इन्टरनेट जडान गरिने ।
९) चितवनको माडी नगरपालिकाले नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा वडा नम्बर ३ का बाढीपिडितलाई राहत सामग्री प्रदान गर्यो, ४६ घरपरिवारले पाए राहत ।
१०) भक्तपुर नगरपालिकाको आयोजनामा एक महिने सांकेतिक भाषा तालिम सुरु, कार्यक्रममा २० जना कर्मचारीको सहभागिता ।
११) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले टोलटोलमा मेयर कार्यक्रमअन्तर्गत वडा नम्बर ४ का स्थानीयसँग विकास निर्माणबारे छलफल गर्यो, वडामा नयाँ योजना थप गर्न स्थानीयको माग
।
१२) तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना राहत कोषमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गर्यो, सो रकमले पालिकालाई कोरोना नियन्त्रणमा सघाउ पुग्ने ।
१३) सडक मर्मतमा पालिकाले चासो नदिएको भन्दै सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ र ७ का स्थानीयले सडकमै धान रोपेर स्थानीय सरकारको विरोध गरे, जनप्रतिनिधिले नागरिकको समस्यामा ध्यान नदिएपछि स्थानीय आक्रोशित ।
१४) तेह्रथुमको म्याङलुङ नगरपालिकाले नदी तथा खोलाखोल्सीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगायो, सूचना अटेर गर्नेहरूलाई पालिकाले कारबाही गर्ने ।
१५) कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ५ का सुरेन्द्र लोहारले दाइको जमिन हडप्न भीमदत्त नगरपालिका- १० को वडा कार्यालयमा जीवित आमा-बुबाको मुत्युदर्ता गराएको खुलासा, लोहारलाई कारबाहीका लागि वडा कार्यालयले प्रक्रिया अघि बढायो ।
१६) बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ताबापतको ३९ लाख रुपैयाँ चोरीको आरोपमा वडा सचिव उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंह पक्राउ, उनीहरूविरुद्ध अपराधिक लाभ र विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप ।
१७) भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्न सुरु गर्यो, प्लान्ट सञ्चालनका लागि पालिकाले चीनबाट आवश्यक सामग्री ल्यायो ।
१८) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई राहत सहयोग गर्नेहरू बढ्दै, पालिकाको राहत तथा पुनःस्थापना कोषमा पनि रकम जुट्दै ।
१९) एसईईको नतिजा प्रकाशन नभई विद्यालयले विभिन्न वहानामा शुल्क लिन थालेपछि काठमाडौं महानगरपालिकाले कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थालाई दियो निर्देशन, कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्नुपर्ने ।
२०) सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ का वडा सचिव हरिनारायण मेहताको निधनको शोकमा गाउँपालिकाले दियो शोक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।