बझाङ- बझाङको बुङ्गल नगरपालिका–९ र ११ को सामाजिक सुरक्षा भत्ता वापतको रकम वडा सचिवको डेरावाटै गायब भएको छ ।
वडासचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ चोरी भएको बताइएको छ ।
नगरपालिकाका सूचना अधिकारी रमेश बहादुर कार्कीका अनुसार रकम चोरी भएको भनिएपनि विस्तृत विवरण आएको छैन ।
‘घटनावारे सुनिएको हो वडासचिव सम्पर्कमा नआएकाले विस्तृत भन्न सकिएन’ उनले पालिकाखबरसँग भने ।
नगर कार्यपालिका बैठक जारी रहेका कारण नगरका प्रमुख र उपप्रमुखलगायतका पदाधिकारीसँग भने सम्पर्क हुन सकेको छैन ।
वडा सचिव सोही वडाका सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएका छन् । सुरक्षा भत्ताको २९ लाख रुपैयाँ उनकै घरबाट चोरी भएको हो ।
वडा सचिव महतोसहित घर मालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालयले घटनावारे अनुसन्धान गरिरहेको बताएको छ ।
उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेका र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । २१ लाख ९१ हजार रुपैयाँ वितरण गरेर बाँकी रहेको ३९ लाख चोरी भएको भनिएको हो ।
यसअघि नुवाकोटको पञ्चकन्या गाउँपालिकावाट पनि सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ गायब भएको थियो। सो घटनावारे अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले अनुसन्धान गरिरहेका छन् ।