देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषकलाई विभिन्न प्रकारका कृषि उपकरण प्रदान गर्यो, अनुदानमा उपकरण पाउँदा कृषक दंग ।
२) तनहुँको भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।
३) पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष न्योबहादुर सुनारीको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन, सुनारीको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द ।
४) कञ्चनपुरको वेदकोट नगरपालिकाले कार्यालय परिसर र पार्कमा विभिन्न जातका फूलका बिरुवा रोप्यो, कार्यालय परिसर हरियाले बनाउने योजना ।
५) सप्तरीको रावविराज नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत महिलालाई पोषण सामग्री वितरण गर्यो, अन्डासहितका विभिन्न सामग्री प्रदान ।
६) गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका कर्मचारीले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो, स्टिमेटअनुसार काम नगरी रकम हिनामिना गरेकाले बिगोसहित कारबाही माग ।
७) रौतहटको यमुनामाई गाउँपालिकाले कृषकलाई चापाकटर र मिल्क क्यान वितरण गर्यो, आयआर्जनमा सहयोग पुग्ने ।
८) काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरमा दन्तशिविर सञ्चालन गर्ने, धुलिखेल अस्पतालका प्रतिनिधिसँग छलफल सम्पन्न ।
९) गोरखाको अजिरकोट गाउँपालिकामा कोरोना संक्रमित बढेपछि पालिकाको कार्यालय ७ साउनसम्म बन्द, अत्यावश्यक काम भने पालिकाले स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने ।
१०) कञ्चनपुरको भीमदत्त नगरपालिकाले दलित समुदायका लागि जुत्ता सिलाइ तालिम सञ्चालन गरेर सिलाइ सामग्री हस्तान्तरण गर्यो, अब रोजगारीमा दलित समुदायलाई सहयोग पुग्ने ।
११) बैतडीको पाटन र मेलौली नगरपालिकासँगै शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारे, पाठ्यक्रम पालिकाले स्वीकृत गरेपछि लागू हुने ।
१२) जाजरकोटको भेरी नगरपालिकाले बाढीपहिरो प्रभावित वडा नमबर २ रिसाङका ६ घरपरिवारलाई राहत प्रदान गर्यो, बस्ती निकै जोखिममा ।
१३) एक जना विद्यार्थीलाई आवाससहित एमबिबिएस अध्ययन गर्न ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने, पालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गर्यो ।
१४) काभ्रेको बनेपा नगरपालिकाले टिपर चालक करारमा नियुक्त गर्दै, ४ साउनमा आवेदन दिएकाहरूको अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने ।
१५) स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान रकम वितरण गर्यो, अनुदानको व्यवस्थाले बाँझो जमिनमा खेती गर्नेहरू बढ्दै ।
१६) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, रकम सहयोग गर्नेहरू बढ्दै ।
१७) दाङको तुलसीपुर उपमहानगरपालिकाले न्यायिक समितिका उपलब्धि सार्वजनिक गर्यो, समितिले अधिकांश मुद्दा किनारा लगायो ।
१८) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजार पाउनुपर्ने माग गर्दै कपिलवस्तुको बुद्घभूमि नगरपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, नगरपालिकाले बजेटमार्फत पारिश्रमिक कार्यान्वयनमा ल्याएन ।
१९) सुनसरीको बराहक्षेत्र नगरपालिकाले कोरोनाका लक्षण देखिएकाहरूको स्वाब संकलन गर्यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय ।
२०) तनहुँको ऋषिङ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गर्यो, जनही ५० हजारका रुपैयाँ दरले राहत रकम वितरण ।