close

भूमिहीनलाई जग्गा दिन बर्दिवास सक्रिय (भिडियो खबर)

भूमिहीनलाई जग्गा दिन बर्दिवास सक्रिय (भिडियो खबर)

ADVERTISEMENT

महोत्तरी- केन्द्रीयस्तरमै भूमि आयोग गठन गरी अव्यवस्थित बसोबास, भूमिहीन तथा सुकुम्वासीलाई जग्गा दिलाउने निर्णय अनुसार यतिबेला देशैभरीका पालिकामा लालपुर्जा प्राप्तिका लागि नापी प्रक्रिया अगाडि बढाइएको छ । नापी प्रक्रिया अगाडि बढाएर भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्दै आएकालाई धनीपूर्जा वितरण गर्ने संघीय सरकारको नीति अनुसार तीव्रता दिइएको छ । प्रदेश २ को महोत्तरीमा सबैभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास छ । जिल्लाको बर्दिवास नगरपालिकाका १४ वटै वडामा नापी प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाइएको छ ।

 
२०७७ मंसिर २४ गते भूमि सम्बन्धी समस्या सावधान आयोग ताहाचाल र बर्दिबास नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर साकिए लगत्तै नगरपालिका भित्रका भूमि सम्बन्धी आधारभूत स्थितिको अध्ययन भएको थियो । ३५ दिनभित्र लागत संकलन सकेर सम्पूर्ण तथ्यांक पठाइसक्ने सम्झौता अनुसार संकलित तथ्यांक पठाइसकिएको छ । अब असोज मसान्तभित्र सम्पूर्ण प्रमाणीकरण सकेर धनीपुर्जा जनताको हातहातमा वितरण गर्ने नगरपालिकाको तयारी छ । 


नगरस्तरीय सहजीकरण समिति र वडा स्तरीय सहजीकरण समिति गठन गरेर कोरोना महामारीको बीचमा भएको निषेधाज्ञामा समेत दूरी कायम गरि नगरपालिकाले नापी प्रक्रियालाई निरन्तरता दिँदै आएको छ । लागत संकलन र प्रमाणीकरणको कार्य पूरा भइ नापी कार्यले तीव्रता पाएपछि स्थानीय पनि खुसी छन् । ५० औँ वर्षदेखि भूमिहीन तथा लालपुर्जाविहीन बनेर बसिरहेको बेला धनीपुर्जा दिलाउन जनप्रतिनिधिले खेलेको भूमिकालाई स्थानीयले प्रशंसा गर्दै आएका छन् ।


नगरपालिकाभरीका जनप्रतिनिधिले चुनावी अभियानमा पनि अव्यवस्थित बसोबास र वर्षौदेखि उपभोग गर्दै आएका जग्गाको सर्वसाधारणलाई धनीपुर्जा दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तराइ कै मुख्य समस्याको रूपमा रहेको भूमि सम्बन्धी समस्या समाधान गर्न औपचारिक रूपमा नै अगाडी बढेपछि जनप्रतिनिधि समेत निक्कै खुसी देखिएका छन् । अन्य कार्यलाई भन्दा नापी प्रक्रियालाई तीव्र बनाइ असोज मसान्तभित्र सबै जनालाइ लालपुर्जा वितरण गरिसक्ने योजना बनाइएको छ । 


नगरपालिकाले २०७७ साल मंसिर ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण संकलनका लागि ३० वटा गणकलाई तालिम दिएर १४ वटै वडामा परिचालन गरेको थियो । अहिले वडा न.६ को सम्पूर्ण नापजाँच सम्पन्न भइसकेको छ भने वडा नम्बर १, ३, ४, ५ र ११ मा एकैसाथ नापी कार्य र जिआइएस म्यापमा प्रविष्ट गर्ने काम भइरहेको छ । अहिले नगरपालिका भित्र ९ हजार ४ सय ५९ फारमहरुबाट बिवरण समाबेश भएको छ भने २५ सय ६८ कित्ता नापजाँच सम्पन्न भइसकेको छ ।