बाँके- कोरोना महामारी नियन्त्रणका जारी गरिएको निषेधाज्ञाको करिब २ महिनापछि मंगलबारदेखि बाँकेमा सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा आएका छन् ।
संक्रमण घट्दै गए पनि जोखिम कायमै रहेकाले तत्कालका लागि मंगलबारदेखि जोरबिजोर नम्बर प्रणालीबाट यातायातका साधान चल्न दिने निर्णय स्थानीय प्रशासनले गरेको हो ।
सोहीअनुसार मंगलबारदेखि बाँकेमा बिजोरनम्बरका सवारीसाधन चलेका छन् । दिनअनुसार जोरबिजोर नम्बरका सवारीसाधन चल्नेछन् ।
जोर अंक परेको दिन जोर नम्बरका र बिजोर अंक परेको दिन बिजोर नम्बरका सवारीसाधन चल्ने बाँके प्रहरीले जनाएको छ । सवारीसाधनमा स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने बाँकेका सिडियो शिवराम गेलालले बताए ।
गाडीमा अनिवार्य रूपले मास्क प्रयोग गर्नुपर्नेछ । स्यानिटाइजर प्रयोगलाई पनि अनिवार्य गरिएको छ । बजार व्यवसाय भने बिहान ९ देखि ४ बजेसम्म खोल्न दिने निर्णय यथावत् छ ।
दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि १३ वैशाखदेखि बाँकेमा जारी निषेधाज्ञा थप १ साता लम्ब्याएर २१ असारसम्म पुर्याइएको छ ।