close

पालिकामा दिनभरः कतै आइसक्यो बजेट, कतै बन्दैछ नीति (भिडियाे खबर)

पालिकामा दिनभरः कतै आइसक्यो बजेट, कतै बन्दैछ नीति (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) डोटीको पूर्वीचौकी गाउँपालिकाद्वारा सुत्केरीलाई पोषणयुक्त खानेकुरासहितको कोसेली वितरण गर्न सुरु, कार्यक्रमअन्तर्गत पालिकाका ८४ जना सुत्केरीलाई पोषण झोला वितरण गरिने ।

 

२) नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कांग्रेस कार्यकर्ताले लगाएको ताला अझै खुलेन, वडा कार्यालयबाट चोरी भएको ५३ लाख रुपैयाँ खोजी गरी दोषीलाई कारबाही नगरेसम्म नखोल्ने अडान ।

 

३) भक्तपुरको चाँगुनारायण नगरपालिकाको नवौँ नगरसभा जारी, सभाले आगमी वर्षको नीति तथा कार्यक्रम पारित गर्‍यो, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि उच्च प्राथमिकतामा ।

 

४) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकले तीन दिन बराबरको तलब जम्मा गरे, पालिकाको कोषमा रकम सहयोग गर्नेहरु बढ्दै ।

 

५) अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले किसानलाई विषादी वितरण गर्न थाल्यो, निःशुल्क विषादी दिएपछि मकैबाली जोगिने आश ।

 

६) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी वर्षका लागि ७१ करोड ४८ लाख तीन हजार रुपैयाँको अनुमानित बजेट नगरसभामा पेश गर्‍यो, जिल्लाका अन्य स्थानीय तह पनि बजेट ल्याउने तयारीमा ।

 

७) भीरबाट लडेर घाइते भएकी जाजरकोटको भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु, वडाको योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा भीरबाट लडेकी थिइन् नेपाली  ।

 

८) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरसभामा २ अर्ब ३ करोड ७६ लाख ९२ हजार रुपैयाँको बजेट पेस गर्‍यो, बजेटमाथि छलफल गरी १० असारमा पारित गरिने ।

 

९) रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गर्ने प्रस्ताव गाउँ सभामा पेस हुने, आगामी वर्षको योजना तथा बजेटबारे छलफल गर्न कार्यपालिका बैठक सम्पन्न ।

 

१०) सिन्धुलीको कमलामाई नगरपालिकाले नवौँ नगरसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्‍यो, स्वास्थ्य, कृषिलगायतका क्षेत्र मुख्य प्राथमिकतामा ।

 

११) बाढीले क्षति गरेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ५ लाख रुपैयाँ प्रदान गर्‍यो, प्रभावितलाई राहत र आर्थिक सहयोग गर्नेहरू बढ्दै ।

 

१२) तेह्रथुमको म्याङलुङ नगरपालिकामा खेलमैदान धमाधम निर्माण हुँदै, नगरप्रमुख सञ्जय तुम्वाहाङफे लगायतले गरे मैदानको अनुगमन ।

 

१३) काठमाडौंको नागार्जुन नगरपालिकाको पाँचौँ नगरसभा सम्पन्न, नगरसभाले गर्‍यो विभिन्न महत्वपूर्ण विषयमा छलफल र निर्णय ।

 

१४) उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरु बढ्दै ।

 

१५) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा गर्ने, आगामी आर्थिक वर्षदेखि यो कार्यक्रम कार्यान्वयनमा आउने ।

 

१६) स्याङ्जाको भीरकोट नगरपालिकाको आठौँ नगरसभामा पेस गर्‍यो आगामी वर्षको नीति कार्यक्रम र बजेट, नगरसभा १० असारसम्म चल्ने ।

 

१७) बाजुराको त्रिवेणी नगरपालिकामा नवौँ नगरसभा सम्पन्न, जनमुखी बजेट ल्याएको भन्दै पालिकावासी उत्साहित ।

 

१८) म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्यमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्‍यो, कोभिडका कारण पर्यटन ठप्प हुँदा राजस्व संकलन भने प्रभावित ।

 

१९) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट नवौँ नगरसभामार्फत सार्वजनिक गर्‍यो, सभामा चालू वर्षको समीक्षा र विभिन्न विधेयक लगायतका विषयमा छलफल ।

 

२०) ललितपुर महानगरपालिकाले कोभिशिल्डको पहिलो खोप लगाएका नागरिकलाई पनि लगायो दोस्रो डोज ।