कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले पूर्वाधार, सामाजिक विकास तथा रोजगारीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले भौतिक निर्माणलाई दिगो, व्यवस्थित तथा वातावरणमैत्री बनाउन आवधिक योजना निर्माण गर्ने प्राथमिकता दिएको छ । नगरस्तरीय चक्रपथ निर्माण, पालिकास्तरीय अस्पताल निर्माण, आयुर्वेद स्वास्थ्य संस्था स्थापना गर्ने नीति ल्याएको छ ।
यसैगरी पालिकाले बालमैत्री नगर घोषणाका लागि तथ्यांक संकलन, एउटा वडालाई बालमैत्री घोषण गर्ने, कम्प्युटर नभएका विद्यालयमा कम्प्युटर र प्रिन्टर उपलब्ध गराउने, प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न, दलित, थारु समुदायका छात्रालाई वार्षिक ३० हजार रुपैयाँ सहयोग, कोभिडका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका युवालाई स्वरोजगार बनाउनेलगायत कार्यक्रम समेटिएको नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए ।
आन्तरिक पर्यटन बढाउन तालतलैया तथा बजार क्षेत्र सौन्दर्यकरण गर्नेजस्ता कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएको छ । पालिकाको आम्दानीका लागि ताल ठेक्का लगाउने, माटो निकासी कर लगाउने, घर बहाल कर उठाउने, नदीजन्य पदार्थ बिक्री गर्ने लक्ष्य लिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।