ओखलढुंगा– अन्तरजातीय विवाह गरेको आरोपमा चम्पादेवी गाउँपालिका वडा नम्बर ३ ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्त्येष्टिमा २ छोरालाई सहभागी हुन रोक लगाइएको छ ।
७० वर्षीय तामाङको गत २९ जेठमा घरमै निधन भएको थियो । मुटुका रोगी उनका ४ भाइ छोरा छन् । त्यसमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीपलाई अन्तरजातीय बिहे गरेको कारण देखाएर बुबाको अन्त्येष्टिमा सहभागी हुन समाजले रोक लगाएको हो ।
उक्त कामको नेतृत्व वडाध्यक्ष बलबहादुर तामाङले गरेका छन् । वडाध्यक्ष तामाङले समुदायलाई उक्साएर बुबाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुनासो छ ।
बुबा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर, बुबाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरूलाई माटो चढाउन पनि रोक लगाइयो ।
‘यदि म र भाइ कान्छाले छोयौँ भने सबै मलामी फर्किन्छौँ भनेर रोकियो,’ शंकरले भने, ‘त्यसपछि आमा रुनुभयो र तिमीहरू फर्क, नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौँ ।’
उनीहरू फर्किएपछि जेठा यामबहादुर र साइँला तुलबहादुरले बुबाको अन्त्येष्टि तथा परम्पराअनुसार कामकाज गरेका छन् ।
शुक्रबार घरमा बुबाको काजकिरिया भइरहेको छ । तर, माइला र कान्छा छोरा काठमाडौंमै छन् । अन्त्येष्टिका मुख्य पुजारी लामाले किरियापुत्रीको रूपमा सहभागी भए पनि होऊ भने । तर, वडाध्यक्ष बलबहादुर तामाङ नेतृत्वको गाउँलेले नदिएको उनीहरूको आरोप छ ।
‘तिमीहरू कानुनी रूपले जहाँ गए पनि जाओ । अन्तिममा मिल्ने समाजमै हो । देशको कानुन र समाजको कानुन फरक हुन्छ भनेर वडाध्यक्षले थर्काए,’ शंकरले भने ।
शंकरले क्षत्री थरकी बिहे गरेका हुन् भने कान्छा भाइ प्रदीपले दलित समुदायकी केटी बिहे गरेका थिए ।
यो गाउँमा जातीय कारण देखाएर विभेद गरिएको पहिलो घटना भने होइन । सोही गाउँका राजु तामाङले २ वर्षअघि हजुरबुबा बित्दा आफूलाई अन्तरजातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताए ।
वडाध्यक्ष बलबहादुर तामाङ भने यो आरोप सरासर झुटो भएको दाबी गरे । ‘उनीहरू दाजुभाइमै कुरा भएपछि आफंैले हामी छुँदैनौँ भनेर हिँडेका हुन्,’ वडाध्यक्षले भने, ‘मेरो कुनै भूमिका छैन ।’
तर, उनले मंगलबार सञ्चारकर्मीसँगको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकाले त्यहीअनुसार उनीहरूलाई रोक लगाइएको जवाफ दिएका थिए ।
जातीय विभेदको सिकार बनेका छोराहरू राजनीतिक रंग गाँसिएको बताउँछन् । राजनीतिक रूपले समर्थन नगर्ने भएकाले वडाध्यक्षको भूमिका यस्तो हुन सक्ने अनुमान गरिएको छ ।
अघिल्लो वर्ष मात्रै वडाध्यक्षकी हजुरआमा बित्दा उनका काकाले नेवार थरकी केटी विवाह गरे पनि काजकिरियामा सहभागी गराइएको थियो ।
दलित अधिकारकर्मी बलबहादुर परियार देशको कानुन एउटा र गाउँमा ठूलाठालूले चलाउने अर्को कानुन भएको बताउँछन् ।