नुवाकोट- २० चैत २०७७ मा पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का वडा सचिव सरिता रावतसहित ३ जना कर्मचारी सदरमुकाम बट्टारमा रहेको हिमालयन बैंक पुगे ।
वडामा सामाजिक सुरक्षा भत्ता बाँड्ने भन्दै ५० लाख रुपैयाँ झिके । झोलामा बोकेर वडा कार्यालयतिरै फर्किए । वडाले भत्ताको पैसा ल्याएको खबर गाउँमा फैलिइसकेको थियो । ज्येष्ठ नागरिकदेखि एकल महिलासम्म भत्ता लिन २५ जेठमा वडा कार्यालय जाने तरखरमा थिए ।
विडम्बना ! भत्ता बाँड्न भनेर ल्याइएको ५० लाख र वडाले संकलन गरेको राजस्व तथा अघिल्लो पटक भत्ता वितरण गरेर उभ्रिएको ३ लाख गरी ५३ लाख रुपैयाँ राती नै चोरी भएको भनियो ।
अन्ततः भत्ता पाउने रोस्टरमा भएकाहरू रित्तो हात घर फर्किए । पैसा चोरी भएको भनिएको ३ महिना बित्यो । न लाभग्राहीले भत्ता पाए, न त चोरिएको रकम र चोरी गर्ने मान्छे नै फेला परे ।
यस्तो छ घटना
पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङका अनुसार वडा कार्यालयबाट चोरी भएको रकम अहिलेसम्म भेटिएको छैन । पैसा हराएपछि गाउँपालिका रकम खोज्न कम्मर कसेर लाग्यो । वडा कार्यालयका सचिव र २ जना कर्मचारीले वडा कार्यालयको दराजमा पैसा राखेर घर गएको बताए । त्यसपछि कार्यालयमा जोडिएको सिसिटिभी फुटेज हेरियो ।
‘तर फुटेजमा कर्मचारीले रकम राखेको देखिँदैन,’ पालिका अध्यक्ष तामाङले पालिका खबरसँग भने, ‘राती १ जना मान्छे झोला बोकेर आएको देखिन्छ तर दराजबाट रकम झिकेको देखिँदैन । ती मान्छे यताउति डुलेको भने देखियो ।’
कर्मचारीले ल्याएको रकम हराएपछि अनुसन्धान कर्मचारीतिरै सोझियो । पालिकाले वडा सचिव रावत र अन्य २ जना सहायक स्तरका कर्मचारीविरुद्ध प्रहरीमा उजुरी दियो ।
प्रहरी अनुसन्धान सकेर उनीहरूविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता भयो । अदालतले अभियुक्त भनिएका वडा सचिव रावतलाई ३ लाख र सहायक स्तरका २ जना कर्मचारीलाई जनही ५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दियो ।
‘अदालतको आदेशले ३ जना कर्मचारी छुटेर आइसके । उनीहरू वडा कार्यालय आइरहेका छन् तर मुद्दाको टुंगो नलागेसम्म काम गर्न दिन्न भनेको छु,’ पालिका अध्यक्ष तामाङ भन्छन्, अभियोग लागेका सचिवलाई मुद्दा नसकिएसम्म काम गर्न दिनू भन्ने आदेश भएको छ । त्यही भएर उहाँ कार्यालय आइरहनुभएको छ, कामचाहिँ गर्न दिएका छैनौँ ।
बा-आमा भत्ता खै भनिरहन्छन्
पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुर्णासैनी वृद्ध बा-आमादेखि सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले भत्ता कहिले आउँछ भनेर दिनहुँ सोध्ने गरेको बताउँछन् ।
भत्ताको रकम चोरी भइसकेका कारण वडाले उनीहरूलाई भत्ता दिन सकेको छैन । भत्ता माग्न आउनेलाई आजभोलि भन्दै कुराएको लामो समय भइसकेको छ । तर, न मुद्दा टुंगिएको छ, न त भत्ताको रकम जोहो गर्ने अर्को स्रोत नै फेला परेको छ ।
जवाफ नै दिएन संघीय मन्त्रालयले
रकम चोरी भएपछि अन्योलमा परेको गाउँपालिका नेतृत्वले संघीय मामला तथा सामान्य मन्त्रालयसँग राय माग्यो । २ पटक पत्राचार गर्दा पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन ।
‘भत्ता दिन नसकेपछि अब के गर्ने भनेर मन्त्रालयलाई २ पटक पत्र पठाइसकेँ । तर, उतावाट जवाफ नै आएन,’ अध्यक्ष तामाङ गुनासो गर्छन्, ‘अब भत्ता माग्न आउने बा-आमालाई के जवाफ दिनू ?’