close

कोरोना संक्रमण रोकथाममा पूर्वसांसदको हातेमालो

सबै स्थानीय तहलाई पठाए स्वास्थ्य सामग्री

कोरोना संक्रमण रोकथाममा पूर्वसांसदको हातेमालो

सबै स्थानीय तहलाई पठाए स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

ओखलढुंगा- कोरोना संक्रमण रोकथाम अभियानमा पूर्वसांसद रामहरि खतिवडाले हातेमालो थालेका छन् । उनले जिल्लाका सबै स्थानीय तह, अस्पताल र सुरक्षा निकायलाई स्वास्थ्य सामग्री हस्तान्ततरण गरेका छन् । 


कांग्रेस नेतासमेत रहेका संविधानसभा सदस्य खतिवडाले जुटाएको ८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जिल्लाका सुरक्षा निकाय तथा स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।


खतिवडाले राजधानीमा जुटाएको स्वास्थ्य सामग्री सर्जिकल मास्क, स्यानिटाइजर, केएन ९५ मास्क, शव बाकस र साबुन जिल्ला ल्याएका हुन् । उनले ९८ हजार सर्जिकल मास्क, २ हजार एन नाइन्टी मास्क, ८८ सेट पिपिई, ४ सय ५० लिटर स्यानिटाइजर, १ हजार ५ सय थान पतञ्जली साबुन हस्तान्तरण गरेको जानकारी दिए । 

 

विपद्का बेला जनताले घरघरमा आइदिए हुन्थ्यो भन्ने चाहना राखे पनि पुग्न नसक्ने अवस्था सिर्जना भएकाले सम्बन्धित स्थानीय तह तथा सरकारी कार्यालयका जिम्मेवार पदाधिकारीमार्फत स्वास्थ्य सामग्री पठाएर जनताको पीडामा सानो सहयोग पु¥याएको खतिवडाले बताए ।

 

कांग्रेस नेता बहादुरसिंह लामालगायत अन्य केही व्यक्तिको सहयोगमा जुटाएको उक्त सामग्री जिल्लाका लागि ल्याएको उनको भनाइ छ । 


उनले ७५ वडामा प्रतिवडा १ हजार मास्क र ५ लिटर स्यानिटाइजर वितरण गरेका हुन् । त्यस्तै, फ्रन्ट लाइनमा रहेर काम गर्ने, स्वास्थ्य संस्था, सुरक्षा निकाय र सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ ।

 

कोरोना कहरका बीच जिल्लावासी नागरिकको स्वास्थ्य सुरक्षालाई लक्षित गरी नेता खतिवडाले स्वास्थ्य सामग्री सहयोग गरेको सिद्धिचरण नगरका कांग्रेस संयोजक डिल्ली खनालले बताए । 

 

यसअघि विघटित प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार, एमाले नेता हंशराज वाग्लेलगायतले पनि स्थानीय तह, वडा र सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेका थिए ।