close

स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत नै ढुंगा, गिटी, बालुवा !

स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत नै ढुंगा, गिटी, बालुवा !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- आन्तरिक आम्दानीमा ताप्लेजुङकै सबैभन्दा बलियो स्थानीय तह फुङ्लिङ नगरपालिकाको आम्दानीको ठूलो हिस्सा भनेकै ढुंगा, गिटी र बालुवाको ठेक्का हो । मालपोतसहितका अन्य कर, एकीकृत सम्पत्ति कर, सिफारिस दस्तुरसहितका अन्य आम्दानी गर्ने नगरपालिकाले कुल आम्दानीको करिब १ तिहाइ रकम प्राकृतिक स्रोतबाटै आर्जन गर्छ । ‘ढुंगा, गिटी र बालुवाबाहेक आम्दानीको अर्को ठूलो स्रोत भनेको गोलिया हो’, नगर राजस्व परामर्श समितिका संयोजकसमेत रहेका उपप्रमुख बमबहादुर भट्टराईले भने ।

 

पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा ताप्लेजुङका सबै स्थानीय तहको प्रमुख आम्दानीको स्रोत ढुंगा, गिटी र बालुवा नै रहेको बताउँछन् । ‘मालपोत करले हुने हो । सदरमुकाम र मालपोत कार्यालय रहेको स्थानीय तहबाहेक अन्य त्यो आम्दानी हुने कुरै रहेन’, उनले भने ।

 

सिरिजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे भने आफ्नो पालिकाको सबैभन्दा बढी आन्तरिक आम्दानी भने एकीकृत सम्पत्ति कर र भूमि करबाट प्राप्त भइरहेको बताउँछन् ।

 

‘यदि त्यतातिर ध्यान जाने हो भने सबैभन्दा बढी आम्दानी ढुंगा, गिटी र बालुवासहितको प्राकृतिक स्रोतबाटै हुन्छ । तर, अहिलेसम्म भने त्यो हाम्रा लागि आन्तरिक आम्दानीको ठूलो स्रोत बन्न सकिरहेको छैन’, घिमिरेले भने ।

 

मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेले पालिकाको सबैभन्दा ठूलो आन्तरिक आम्दानीको स्रोत भनेको ढुंगा, गिटी र बालुवाको कमाइ नै रहेको बताए । यी भनाइबाट स्पष्ट के हुन्छ भने अहिले स्थानीय सरकारको सबैभन्दा ठूलो स्रोत नै ढुंगा, गिटी, बालुवा, काठ, दाउरासहितका प्राकृतिक स्रोत हुन् । 

 

जल तथा मौसम विज्ञान विभाग, हावापानी फिल्ड कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख बिष्णुप्रसाद न्यौपाने ढुंगा, माटो, गिटी र बालुवा बेचेर धनी भइने सोच्नु गलत भएको सुनाउँँछन् ।

 

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदैं उनले हाम्रै छिमेकी सिक्किम, दार्जिलिङलगायत स्थानमा बनेका तेञ्जिङ रक, बोटानिकल गार्डेन, टि गार्डेनलगायत क्षेत्रको भ्रमणबाट प्राकृतिक सम्पत्तिको उपयोगले प्राकृतिक सम्पदा पनि जोगिने र पर्यटकीय स्थल भ्रमण, अवलोकन गराएर आम्दानी गर्न सकिने बताए ।

 

‘स्थानीय तहले आन्तरिक आम्दानी बढाउने प्रयोजनका लागि प्राकृतिक सम्पत्तिको बिक्री बन्द गरी यसको संरक्षण गर्ने र त्यही संरक्षणलाई पर्यटकीय आकार दिने हो भने प्राकृतिक स्रोत संरक्षणका लागि महत्त्वपूर्ण योगदान पुग्नेछ’, न्यौपानेको सल्लाह छ ।  जल, जमिन, जंगल, कृषि पैदावार, खनिज पदार्थ, ऊर्जाजस्ता प्राकृतिक स्रोत अत्यधिक दोहोन र प्रयोगले घट्दै गएका छन् ।

 

२०७५ मा ताप्लेजुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी अनुुज भण्डारीको कार्यकालमा यहाँ प्राकृतिक स्रोत कसको भन्ने विषयले निकै चर्चा पायो । भर्खर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको हुनाले पनि हुन सक्छ, प्रजिअ भण्डारी र स्थानीय तहका जनप्रतिनिधिका बीच यस विषयमा सवाल-जवाफ मजैले चल्यो । 

 

प्रजिअ भण्डारीले जग्गा व्यक्तिको भए पनि ढुंगा, गिटी, बालुवासहितको प्राकृतिक स्रोत भने सरकारको हुने सुझाए । धेरैले अचम्म माने पनि कुरा त्यही थियो । प्राकृतिक रूपमा मानिसको कुनै पनि क्रियाकलापबिना अस्तित्वमा रहेको स्रोत प्राकृतिक स्रोत हो ।

 

हावा, पानी, जमिन, खनिज पदार्थ, वन, प्राणी, सूर्यको प्रकाश आदि प्राकृतिक स्रोत हुन् । कुनै पनि देशको समृद्धिमा प्राकृतिक स्रोतको ठूलो महत्त्व हुन्छ । सरकारले १५ जेठमा अध्यादेशमार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गरेको वार्षिक बजेटको बुँदा नम्बर ११९ मा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख छ । यसले प्राकृतिक स्रोतको विनास भई विपद् निम्तिने सरकारको विरोध भइरहेको छ ।