देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न चितवनको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल संक्रमितको घरघरमा पुग्न थाले, पालिका कोरोना नियन्त्रणमा पनि थप क्रियाशिल ।
२) कोरोना संक्रमितलाई स्वास्थ्य सेवा प्रदान गर्न काभ्रेको पाँचखाल नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा पुग्न थाले, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।
३) टोल-टोलमा पुगेर कोरोना परीक्षण गर्दै काठमाडौं महानगरपालिका, महानगरले लक्षण देखिएकाहरुको कोरोना परीक्षण गर्ने ।
४) नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले स्थापना गरेको कोभिड-१९ राहत कोषमा बलेफी गाउँपालिकाद्वारा एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय, पालिकाले आइसोलेसन पनि तयार पार्यो ।
५) स्याङ्जाको पुतलीबजार नगरपालिकाका कर्मचारीले पालिकाको कोभिड कोषमा रकम सहयोग गरे, कर्मचारीले ५ लाख ७९ हजार १ सय ६ रुपैयाँ जम्मा गरे ।
६) धनुषाको जनकपुरधाम उपहानगरपालिकाले नगरवासीको नि:शुल्क कोरोना परीक्षण गर्न थाल्यो, जिल्लाका सबै पालिका कोरोना नियन्त्रणमा क्रियाशिल ।
७) उदयपुरको कटारी नगरपालिकाका जनप्रतिनिधि होम आइसोलेसनमा रहेका कोरोना संक्रमित भेट्न टोल-टोलमा पुग्न थाले, संक्रमितलाई औषधि पनि वितरण ।
८) ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन प्रति फुङलिङ नगरपालिकाले जनायो आपत्ति, नामाकरण सच्याउन संघ सरकारलाई पत्र पठाउने पालिकाको निर्णय ।
९) ललितपुर महानगरपालिकाद्वारा सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेसनको व्यवस्था, आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई बस्न दिइने ।
१०) रामेछापका स्थानीय तहले कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको उपचार गाउँमै गर्न आइसोलेसन कक्ष र अस्पताल निर्माण गरे, संक्रमित बढेपछि पालिकाहरुले दिने सेवा प्रभावित ।
११) कैलालीको धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न उपमहानगरले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम बढ्दै, संघ-संस्था र व्यक्तिले सहयोग गर्दै ।
१२) सर्लाहीको लालबन्दी नगरपालिकाले दुर तथा खुल्ला माध्यमबाट गर्ने भनेको कक्षा ८ को वार्षिक परीक्षा स्थगित गर्यो, नगर क्षेत्रमा कोरोनाको जोखिम कायमै ।
१३) अत्यावश्यक बाहेकका पेशा व्यवसाय सञ्चालन नगर्न काभ्रेको बनेपा नगरपालिकाले जारी गर्यो सूचना, नगर क्षेत्रमा कोरोना अझै नियन्त्रणमा आएन ।
१४) कोरोन संक्रमितको उपचारका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई स्थानीय र संघसंस्थाले रकम सहयोग गर्दै, रकम सहयोग गर्नेहरु बढ्दै ।
१५) रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्ने, २२ जेठ भित्र कृषकले कृषि शाखा र पालिकामा सम्पर्क गर्नुपर्ने ।
१६) कञ्चनपुरको वेदकोट नगरपालिकाले कोरोना परीक्षणको दायर बढायो, टोल-टोलमा पुगेर पालिकावासीको कोरोना परीक्षण ।
१७) जिल्ला प्रशासन कार्यालय मोरङले २४ जेठसम्म निषेधाज्ञाको समय बढायो, स्थानीय तह कोरोना नियन्त्रण थप सक्रिय हुँदै ।
१८) सुर्खेतको भेरीगंगा नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।
१९) कोरोना संक्रमितको स्वास्थ्य सेवाको लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमा पुग्न थाले, संक्रमितलाई स्वास्थ्य सामग्री पनि प्रदान ।
२०) बाँकेको नेपालगञ्ज उपमहानगरका प्रमुख धवल शमशेर राणाद्वारा लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको मतदान बहिस्कार ।