काभ्रे- अन्यन्त्रैको फोटो फेसबुकमा राखेर नमोबुद्ध नगरपालिका प्रमुखको हो भन्दै किटान गरी गलत स्टाटस् लेखेर भ्रम सिर्जना गर्न खोज्ने पूर्वडिएसपीको हर्कतप्रति नमोबुद्ध नगरपालिकाले आपत्ति जनाएको छ ।
स्टाटस् लेख्ने कृष्ण शिवाकोटी नेपाल प्रहरीका डिएसपी हुन् भने उनको घर झापा हो । शिवाकोटीले आफ्नो फेसबुक वालमा पोस्ट गरेको उक्त स्टाटसमा भनिएका र फोटोमा देखिएका व्यक्ति भने फरक हुन् ।
फोटोमा नमोबुद्ध नगरपालिका प्रमुख देखिँदैनन् । फोटो नमोबुद्ध नगरपालिकाको नभएको पालिकाले जनाएको छ । तर, नमोबुद्ध नगरप्रमुखको नाम जोडेर यसरी स्टाटस लेखेकोप्रति नगरले आपत्ति जनाएको छ ।
फोटोमा के छ ?
बेडमा बिरामी महिला छन् । सँगै उनका आफन्त । उनलाई २ जनाले १–१ वटा फ्रुटीको प्याकेट हातमा दिँदै छन् भने अर्का १ युवाले फ्रुटी दिएको फोटो खिचिरहेका छन् ।
यही फोटो राखेर बिरामीलाई नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले राहत बाँडे भनेर लेखिएको छ । तर, यो फोटो न नमोबुद्ध नगरभित्रको हो, न त फोटोमा नगरप्रमुख शर्मा देखिएका छन् ।
नगरप्रमुख शर्माले भने, ‘नियोजित रूपमा बदनाम गर्न खोजेको देखियो । हामी कानुनी उपचारमा जान्छौँ ।’
प्रहरीकै बदनामी
डिएसपीसमेत रहेका कृष्ण शिवाकोटीले यतिसम्म सोच्न सकेनन् कि कोरोनाको यस्तो जटिल परिस्थितिमा राहत बाँडिएको हो भने त्यहाँ पक्कै मास्क लगाइएको हुन्छ । तर, फोटोमा कतै मास्क लगाएकाको उपस्थिति देखिँदैन ।
पूर्वडिएसपी भइसकेका शिवाकोटीबाट भएको यस्तो हर्कतप्रति नगरबासी पनि आक्रोशित बनेका छन् ।
‘हुँदै नभएको कु–प्रचार गरेर नगरपालिका र मेरो बदनाम गर्न गरिएको यो ग्रान्ड डिजाइन हो । यसविरुद्ध हामी कानुनी रूपमा अगाडि बढ्छौँ,’ कोरोना पोजेटिभ भएर घरमा आराम गरिरहेका नगरप्रमुख शर्माले भने, ‘अरू बेला त आक्रमण गरे नै । बिरामी भएर बसेको बेला पनि केही कमजोरी नपाएर मानसिक आक्रमण गर्ने दानवीय सोच भएका व्यक्तिको पर्दाफास अब हुनेछ ।’
यस्तो छ कानुनी व्यवस्था
सामाजिक सञ्जालको दुरुपयोग गरी घृणा, द्वेष फैलाउने कार्य गर्नेविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुन्छ । दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेविरुद्ध उपदफा १ ले भन्छ, ‘कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिमाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
सोही दफाको उपदफा २ ले यस्ता कसुर पटक–पटक गरे त्यस्तो कसुरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय तोकेको छ ।
प्रहरी आचारसंहिताविपरीत
फेसबुकमा नेपाल प्रहरीको डिएसपी लेखिएको र बर्दीसमेत लगाइएको तस्बिर राखिएको छ ।
प्रहरी आचारसंहिताले बर्दिसहित सामाजिक सञ्जालमा राख्न र सार्वजनिक विषयमा टीकाटिप्पणी गर्न निषेध गरेको छ । तर, प्रहरी आचारसंहिताको समेत बर्खिलाप हुने गरी डिएसपी शिवाकोटीले सामाजिक सञ्जालमा निरन्तर यस्ता हर्कत गर्दै आएको उनका स्टाटसले देखाएका छन् ।
नमोबुद्धबासी आक्रोशित
फोटो सार्वजनिक भएपछि नमोबुद्ध नगरपालिकाका नागरिक आक्रोशित बनेको छन् । यस्ता हर्कत गरेर नगरपालिकालाई नै बदनाम गराउन खोज्नेहरूलाई कारबाही गर्न नगरपालिकालाई दबाब दिइरहेका छन् । उनीहरूले नगरप्रमुख शर्मा र नगरपालिकामा फोन गरेरै पूर्वडिएसपीलाई कारबाही गर्न दबाब दिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले भने तत्काल प्रमाण जुटाएर कानुनी उपचारमा जाने बताएको छ ।