रुकुम पूर्व- जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यो वर्ष यार्सा संकलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना महामारी फैलिरहेकाले यसबेला यार्सा संकलन खुला गर्दा संक्रमणको जोखिम झनै उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई निर्देशन दिएको हो ।
पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १, २ र ३ नम्बर वडा क्षेत्रका बुकी पाटनमा यार्सा पाइन्छ । रुकुम पूर्वसहित यार्सा पाइने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको भर्चुअल बैठकबाट यो वर्ष पनि यार्सा संकलनमा रोक लगाउने सहमति भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुने हुँदा छिमेकी जिल्लामा पनि संकलनमा रोक लगाउने सहमति भएको राईले बताए ।
कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा संकलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न यार्सा संकलनमा रोक यसबाट जीवीकोपार्जन गर्दै आएकाको भने आम्दानी खोसिएको छ । प्रत्येक वर्षको जेठ दोस्रो साताबाट यार्सा टिपाइ सुरु भएर असार दोस्रो सातासम्म संकलन हुने गरेको थियो ।
कोरोनाले खोस्यो आम्दानी
रुकुम पूर्वसँगै छिमेकी जिल्लाका नागरिकले यार्सा टिपेर आम्दानी गर्दै आएकालाई आवश्यक घर खर्चको जोहो टुटेको छ । संकलनको सिजनमा १ महिनासम्म बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा टिपेर मात्रै न्यूनतम ३० हजारदेखि ५ लाख रुपैयाँ बढी आम्दानी गर्ने गरेका थिए ।
यार्सा टिप्न जानेका लागि व्यवस्थापन समितिले प्रवेश शुल्क निर्धारण गरेको हुन्छ । सोहीबमोजिम प्रवेश शुल्क तिरेर यार्सा टिप्नुपर्छ ।
रुकुम पूर्वसँगै डोल्पा, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत क्षेत्रमा यार्सा बढी पाइन्छ । तीमध्ये डोल्पा र रुकुम पूर्वको पुपाल क्षेत्रको यार्सालाई व्यापारीको रोजाइमा परेको छ । यहाँको यार्सा बढी मूल्यमा बिक्ने गरेको छ ।
शक्तिप्रवद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालको यार्सा निर्यात हुँदै आएको छ ।