खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई पालिका प्रवेश गर्ने यात्रु बोकेको सवारी साधन नियन्त्रणमा लिएको छ ।
गत २२ वैशाखको निर्णयविपरीत काठमाडौंबाट मंगलबार पिसिआर परीक्षण गरेको रिपोर्ट नभएका ८ स्थानीयलाई बोकेर गाउँपालिका प्रवेश गरेको बा१३च ५३८५ नम्बरको निजी गाडीलाई नियन्त्रणमा लिइएको हो ।
गाउँपालिकाभन्दा बाहिरबाट पालिका प्रवेश गर्ने स्थानीयलाई ७२ घन्टाभित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट बुझाएर मात्र प्रवेश गर्न दिने निर्णयअनुसार परीक्षण गरेको नदेखिएपछि गाडी नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
गाउँपालिकाले गाडीको ब्लु–बुक र चाबी नियन्त्रणमा लिएको छ । यस्तै, पिसिआर परीक्षण नगरी पालिका प्रवेश गर्ने स्थानीयलाई १० दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाइएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको २२ वैशाखको बैठकले कोभिड–१९ को महामारीको अवधिमा पालिका वा जिल्ला बाहिरबाट आउने जोसुकैलाई अनिवार्य ७२ घन्टाभित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट पेस गरेपछि मात्र पालिका प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको थियो ।
यस्तै, पिसिआर परीक्षण गरेको रिपोर्ट पेस गरेर पालिकाभित्र प्रवेश गर्ने व्यक्तिले थप १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।