काठमाडौं– कोरोना संक्रमणको डरले सर्वोच्च अदालतले आज भर्चुअल माध्यमबाटै बहस गर्न सकिने व्यवस्था मिलाएको छ ।
मुद्धाका पक्ष र विपक्षका कानुन व्यवसायीले इजलासमै उपस्थित भएर बहस गर्नुपर्ने व्यवस्थामा परिमार्जन गर्दै सर्वोच्च अदालतले ल फर्म वा सर्वोच्चको सञ्चार कक्षबाटै भर्चुअल माध्यमबाट बहस गर्न सकिने गरी प्रवन्ध गरेको हो ।
‘सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट अथवा अदालतको सञ्चार कक्षबाट वहस गर्न सक्ने व्यवस्था मिलाएको छ,’ सर्वोच्च अदालतका सञ्चारबिज्ञ किशोर पौडेलले जानकारी दिए ।
आज न्यायाधीश अनिल सिन्हाको एकल इजलासमा कानुन व्यवसायीले भर्चुअल माध्यमबाटै बहस गरेका छन् । जहाँ बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाई भएको थियो ।
सुरूवातको चरणमा एउटा बेञ्चबाट भएको बहसलाई सरोकारवालाहरूसँगको समन्वय मार्फत ब्यवस्थित गरिने सर्वोच्च अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले बताए । सर्वोच्च अदालतले न्यायपालिकाको चालू रणनीतिक योजनामा प्रविधिमैत्री बहस बनाउने लक्ष्य लिएको छ ।