close

पालिकाका सीमा क्षेत्रको पूर्वाधार निर्माण : द्विविधा हटाउँदै सिदिङ्वा र सिरिजंघा

पालिकाका सीमा क्षेत्रको पूर्वाधार निर्माण : द्विविधा हटाउँदै सिदिङ्वा र सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- २ वटा दुई जिल्ला वा पालिकाका सीमा क्षेत्रमा रहने पूर्वाधार कसले निर्माण गर्ने भन्ने द्विविधा हटाउँदै ताप्लेजुङको सिदिङ्वा र सिरिजंघा गाउँपालिकाले सीमा क्षेत्र दुवै पालिकाको बराबर दायित्व रहने गरी सहकार्य गर्ने सहमति गरेका छन् ।


योसँगै सिदिङ्वा र सिरिजंघा गाउँपालिकाको सिमाना तावाखोलाको बाँकेटारमा मोटरेबल पुल निर्माण हुने भएको छ भने त्यहाँ पुग्ने मोटरबाटोसमेत निर्माण हुनेछ ।

 

सीमा क्षेत्र भएका कारण तावाखोलाको बाँकेटारमा पुल निर्माण नहुँदा वर्षौंदेखि यातायातमा समस्या हुँदै आएको थियो । दुवै गाउँपालिकाका प्रमुख पदाधिकारी तथा प्रशासकीय प्रमुखको उपस्थितिमा बसेको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने भौतिक पूर्वाधारको दायित्व दुवै पालिकाको बराबर हुने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

 

सहमतिअनुसार अब तावाखोला बाँकेटारमा सिरिजंघा गाउँपालिकाले मोटरेवल पुल निर्माण गर्ने भएको छ । बाँकेटार तावाखोलाको प्रस्तावित पुलसम्म पुग्ने सिदिङ्वा क्षेत्रको काबेली खोला (हप्पु) पुलदेखि रिजनडाँडा हुँदै बाँकेटारसम्म जाने सडक र अन्य सडक सिदिङ्वा गाउँपालिकाले निर्माण गर्ने द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको सिरिजंघा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । 

 

सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले यो सहमतिले सीमा क्षेत्रमा निर्माण हुने पूर्वाधारसम्बन्धी द्विविधा हटाएको बताए । तावाखोला बाँकेटारमा मोटरेवल पुल निर्माणले सिदिङ्वा र सिरिजंघा दुवै पालिकाभित्रका नागरिकलाई फाइदा पुग्ने बैठकमा सहभागी जिल्ला समन्वय समितिका योजना अधिकृत दीपेन्द्र अधिकारी खत्रीको धारणा छ ।

 

सिरिजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार उक्त पुल निर्माण सम्पन्न भए विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमाल भ्रमणमा आउजाउ गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत सहज हुनेछ ।