कास्की- गण्डकी प्रदेशसभाका ३ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सत्तारुढ एमालेका २ र कांग्रेसका १ जना सांसदमा कोरोना पुष्टि भएको हो ।
एमालेका राजीव पहारी, प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङ तथा कर्मचारी सुष्मा गुरुङलाई कोभिड पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमित सांसदले संसद् बैठकमा बोल्न सहभागी हुन नपाए पनि मतदानको अधिकार भने सुरक्षित रहन्छ ।
सुरक्षित भएर संसद् भवनभित्र छिर्ने र मतदानको व्यवस्था मिलाउने सहमति कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको सचिवालयले जनाएको छ ।
एमालेले सांसदको पिसिआरबिना संसद् नचलाउन माग गरेपछि मंगलबार नै उनीह्रूको स्वाब लिइएको थियो । बुधबार बिहान आएको रिपोर्टमा ४ जनाको रिपोर्टमा कोभिड संक्रमणको पुष्टि भएको हो ।
सांसद, कर्मचारी र सुरक्षाकर्मीसहित १ सय ५३ जनाको स्वाब लिइएको थियो । बुधबार १ बजेदेखि नियमित बैठक सञ्चालन गर्ने कार्यतालिका छ ।
कास्कीमा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ । कोभिडकै बीच संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।
बुधबार अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः बिहीबार प्रस्तावमा मतदान हुने बताइएको छ ।